• ४ असार २०८१, मङ्गलबार

नाचघरमा गुञ्जियो लोकभाका

blog

काठमाडौँ, असार १ गते । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले नेपाली मौलिक लोकगीतमा सम्बन्धित क्षेत्रको कथा, व्यथा र संस्कृतिलाई अमर बनाउने ताकत हुने बताउनुभएको छ । 

उपसभामुख मगरले नेपाली मौलिक गीत/सङ्गीतको प्रवर्धन एवं प्रचार तथा कलाकारको हौसलाका लागि सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले साङ्गीतिक गतिविधिमार्फत प्रशंसनीय कार्य गरिरहेको बताउनुभयो । उहाँले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, लोकसङ्गीत विभागद्वारा शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय लोकगीत प्रस्तुति–२०८१ मा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईका अनुसार प्रतिष्ठानका विभिन्न विभागमध्ये लोकसङ्गीत विभागको नियमित कार्यतालिका अनुसार सातै प्रदेशका मौलिक लोकगीतका भाका प्रस्तुत गरिँदै आएको छ । हरेक कलाकारले नेपालका सबै भूभागमा गाइने मौलिक लोकगीत गाउन र सो गीतमा नाच्न सक्ने हुँदा मात्र यस्ता गीतको प्रवर्धनमा योगदान पुग्ने धारणा उहाँको छ ।

प्रतिष्ठानका लोकसङ्गीत विभाग प्रमुख एवं कार्यक्रम संयोजक टीका पुनले प्रज्ञा–प्रतिष्ठानले स्थानीय तह र प्रदेशसँग समन्वय र सहकार्य गर्दै अघि बढिरहेको चर्चा गर्नुभयो । गायक खड्ग गबुर्जा तथा प्रतिमा विश्वकर्माले गण्डकी प्रदेशमा प्रचलित कौरा भाका प्रस्तुत गर्नुभएको थियो । मुना ठटालले लिम्बू समुदायको केलाङ भाका, निरता नेम्वाङले पालम भाकाको लोकगीत प्रस्तुत गर्नुभएको थियो । हरिशङ्कर चौधरीले वैदेशिक रोजगारीमा जानुपर्दाको दुःखलाई मैथिली भाषामा प्रस्तुत गर्नुभयो । रामकुमार नेपालीको समूहले विशेष गरी रामेछाप क्षेत्रमा विवाहको भोलिपल्ट नौमती बाजा बजाउने समूहलाई बिदाइ गर्दा गाइने दर्जी गीत प्रस्तुत गर्नुभयो । सुल्पा समूहमा आबद्ध कलाकारले रुकुम रोल्पामा प्रचलित साहिँली भाकाको लोकगीत, कलाकार कृष्ण रेउलेले मयालाई भाकामा कर्णाली प्रदेशको लोकगीत, कर्णाली प्रदेशमा बढी प्रचलित यानिमाया भाकालाई कलाकार धनराज चुनाराले प्रस्तुत गर्नुभयो । 

कलाकार राजाराम भाटले ठाडी भाका तथा दीपा रोकाया र रूपक परियारले देउडा भाका, गायक कृष्ण रेउले, गायिका राधिका हमाल तथा गायिका शिला आलेले लोकदोहोरी गाएर दर्शकलाई मनोरञ्जन दिनुभएको थियो । दर्पण सङ्गीतालय र सारङ्गी संसार संस्थासँग आबद्ध कलाकारहरू पदम क्षेत्री, प्रकाश केसी, मदन रेग्मी, पावल राई, राजकुमार समाललगायतले वाद्यवादनमा साथ दिनुभएको थियो ।