• ७ कात्तिक २०८१, बुधबार

सुदूरमा प्रहरीलाई भौतिक संरचना अपुग

blog

फाइल तस्बिर

महेन्द्रनगर (कञ्चनपुर), जेठ ३२ गते । तराईका दुई र पहाडमा सात जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा नेपाल प्रहरीले अझै अरु निकायका भवन र भाडाका भवनमा आश्रय लिएर समाज सुरक्षाको जिम्मेवारी बहन गरिरहेको छ ।

उत्तरमा चीनको सीमादेखि कैलाली र कञ्चनपुरमा भारतसितको खुला सीमानाका जोडिएको सुदूरपश्चिम प्रदेशमा  प्रहरीले अपराध नियन्त्रण, शान्ति सुरक्षा र नागरिकको जीउधनको रक्षाका निम्ति भाडा र स्थानीय तह, विद्यालय, तथा अन्य सार्वजनिक भवनमा चौकी स्थापना गरिएको अवस्था छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले जिल्ला प्रहरी कार्यालय र इलाका स्तरसम्म प्रहरीको आफ्नै सुविधा सम्पन्न भौतिक संरचना बनिसकेको बताउनुभयो । 

उहाँले गाउँघरमा चौकी र बिटहरुको भौतिक संरचना निर्माण कार्य दोस्रो चरणमा रहेको जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार यहाँका नौ वटा जिल्लाका विभिन्न स्थानमा गरी ३६ वटा प्रहरी युनिट भाडाका घरमा सञ्चालित छन् । सत्र प्रहरी युनिट पालिका, सङ्घ-संस्था, विद्यालयलगायतका निकायका भवनमा सञ्चालित छन् । तराईका भन्दा पहाडी जिल्लाका दूरदराजका प्रहरी चौकी प्रायः भाडा र अरु निकायको भवनबाट सञ्चालित छन् ।

पछिल्लो समय सङ्घीय बजेट र प्रदेशको बजेटले यहाँ प्रहरीका भौतिक संरचना निर्माण हुने क्रम जारी छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा गत वर्ष यहाँ आठ वटा प्रहरी कार्यालयका भवन निर्माण भएका थिए । आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालु आवमा यहाँ सात प्रहरी कार्यालय निर्माणाधीन रहेको जनाएको छ । मन्त्रालयको योजना शाखाका नासु मनोज जोशीले सुदूरपश्चिममा इप्रका र प्रहरी चौकी प्रदेश सरकारको लगानीमा बढी सङ्ख्यामा निर्माण भइरहेका बताउनुभयो । “५० लाखदेखि चार करोडसम्मका प्रहरी भवन प्रदेश सरकारको लगानीमा निर्माण हुँदै छन्”, उहाँले भन्नुभयो, “नयाँ भवनका साथै पुराना भवनको मर्मत एवम् संरक्षण सम्वद्र्धनमा पनि प्रदेश सरकारले लगानी गरेको छ ।” रासस