• १६ भदौ २०८१, आइतबार

विषादीसहितको आँप बजारमा छ्यापछ्याप्ती

blog

सर्लाहीको नवलपुरस्थित बागवानी केन्द्र अगाडिको सडक किनारमा बेच्न राखिएको विषाक्त आँप । तस्बिर: जनार्जन खत्री

सर्लाही, जेठ ३२ गते । सर्लाहीका बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ (कार्वाइड) हालेर पकाइएको आँप यहाँको प्रत्येक बजारमा खुलेआम बिक्री वितरण भइरहेको हो ।

सरोकारवाला निकायले बेवास्ता गर्दा जिल्लाको मलङ्गवा, बरहथवा, हरिवन, लालबन्दी, बयलवासलगायतका प्रत्येक बजारमा समय अगावै औषधि हालेर पकाइएको आँप व्यापारीले महँगो मूल्यमा बिक्री गरिरहेका छन् । देशकै सबैभन्दा ठुलो सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रकै अगाडि विषादी हालेर पकाइएको आँप खुलेआम बिक्री भइरहेको छ । बागवानी केन्द्र अगाडिको पूर्व पश्चिम राजमार्ग किनारमा बसेका आधा दर्जन बढी व्यापारीले विषादी हालेर पहेँलो हुने गरी पकाएको आँप बागवानीको भन्दै खुलेआम बेचिरहेका हुन् । 

जब कि बागवानीको आँप अहिलेसम्म बाहिर बिक्री गरिएकै छैन । बागवानी केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले सडक किनारमा राखिएको आँप बागवानी केन्द्रको नरहेकाले भ्रममा नपर्न आग्रह गर्नुभएको छ । 

बागवानी केन्द्रको आँप बाहिर बेच्न राखिएकै छैन । “रोडमा बेच्न राखिएको आँप यहाँको होइन, त्यो सबै औषधि हालेर पकाइएको आँप हो,” यादवले भन्नुभयो, “बागवानी केन्द्रको त अधिकांश आँप पाक्ने बेला भएकै छैन, बम्बई आँप भर्खरै दुई÷चार वटा पाकेर झर्न थालेको छ ।”

निमित्त बागवानी केन्द्रका प्रमुख यादवले चार दिनदेखि भने ठेकेदारले भर्खरै पाकेको बम्बई आँप थोरै परिमाणमा टिप्न सुरु गरेको जानकारी दिनुभयो । बागवानी केन्द्रले यो वर्ष २१ लाख ११ हजार रुपियाँमा आँप ठेक्का लगाएको छ । 

केन्द्रका निमित्त प्रमुख यादवले कार्यालय बाहिर बागवानीको आँप भनी खुलेआम विषादी हालेको आँप बिक्री गरिएपछि अघिल्लो वर्ष प्रहरी लगाएर सडक किनारबाट त्यस्ता व्यापारीलाई हटाउने काम गरे पनि असफल भएको गुनासो गर्नुभयो । “बागवानीको आँप भनेर त्यसरी औषधि हालेर पहेँल पुर हुने गरी पकाएको आँप बेच्दा हामीलाई पनि ठुलो हानिपुगिरहेको छ तर उनीहरूलाई हामीले हटाउन सकिरहेका छैनौँ, प्रहरीको सहारा पनि कति लिनु,” केन्द्र प्रमुख यादवले भन्नुभयो, “बागवानीको आँप खुद्रामा बेच्दा कार्यालयकै अगाडि एउटा स्टल राख्छौँ, आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह छ ।” 

विषादी हालेर पकाइएको आँप खाँदा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने चिकित्सकले बताएका छन् । बढ्दो तापक्रमले दैनिकी कष्टकर बनिरहेका बेला विषादी हालेर पकाएको आँप खाँदा स्वास्थ्यमा थप असर गर्ने डा. गुणेश्वर झाले बताउनुभयो । 

“कार्वाइड हालेर पकाइएको आँप खाँदा तत्काल पेट दुख्ने, वान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिन्छ,” डा. झाले भन्नुभयो, “औषधि हालेर जवरजस्ती पकाइएको आँपले गर्मीमा थप समस्या पार्छ ।” चिकित्सकले विषादी प्रयोग गरेको आँप खाँदा दीर्घकालीन रूपमा मानसिक रोग, टाउको दुख्ने, अनिद्रा, स्मरण शक्तिमा ह्रास, मस्तिष्क, आँखा र मिर्गौलामा असर पर्न सक्ने भन्दै सचेत गराएका छन् । 

Author

जनार्जन खत्री