• १३ असोज २०८१, आइतबार

दस वर्षमा पाँच प्रतिशत काम

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, जेठ ३२ गते । रुकुमपश्चिममा एउटा पुल निर्माणको ठेक्का सम्झौता भएको करिब १० वर्ष भयो । काम हालसम्म मुस्किलले पाँच प्रतिशत मात्र भएको छ । त्यसैले सो तोडिएको छ । सडक डिभिजन कार्यालय चौरजहारीले जिल्लाको सानीभेरी गाउँपालिका–२ र ४ जोड्ने मेघा पुल निर्माणको ठेक्का पाएको सपना सैलुङ जेभी ललितपुरसँगको सम्झौता रद्द गरेको हो ।

सडक डिभिजन कार्यालयका अनुसार तत्कालीन मध्यपश्चिमाञ्चल डिभिजन सडक कार्यालय नं २ घोराही, दाङ र उक्त निर्माण कम्पनीबिच २०७१ साल मङ्सिर २ गते भएको सम्झौता अनुसार पुल निर्माणको काम २०७३ पुस १ गते सम्म सम्पन्न हुनुपर्ने थियो । उक्त मितिमा काम नभएपछि २०७७ पुस १३ गतेसम्मका लागि काम गर्ने म्याद थप गरिएको थियो । उक्त मितिपछि पनि न काम भएको छ न त म्याद थप भएको छ । 

अहिले यो योजना लथालिङ्ग बनेको छ ।  डिभिजन प्रमुख तेजस्वी शर्माले समयमै काम नभएको, व्यवसायीलाई लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न पटक पटक अनुरोध गर्दा पनि ठेक्का सम्झौताका सर्तबमोजिम करारीय दायित्व पूरा गर्न नसकेको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(७) र ठेक्का सम्झौताको आधारमा सम्झौता अन्त्य गरिएको जानकारी दिनुभयो ।

उहाँले सार्वजनिक सूचना जारी गरेर ठेक्का रद्द गरिएकाले सात दिनभित्र निर्माण व्यवसायीको आधिकारिक प्रतिनिधिले सम्झौता अन्त्यपछिको मूल्याङ्कनका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको बताउनुभयो । 

सानीभेरी नदीमाथिको १२० मिटर लामो उक्त पक्की पुल निर्माणका लागि १४ करोड ७४ लाख रुपियाँमा सम्झौता भएको थियो । साबिक गरायला र पुर्तिमकाँडा गाविसमा पर्ने यो पुल हाल देवस्थल चौरजहारी राडिज्युला डोल्पा सडकखण्ड अन्तर्गत काम भइरहेको छ । 

ठेक्का अन्त्यपछि अब बाँकी कामको मूल्याङ्कन हुने र सम्पूर्ण खर्च सरकारी असुलउपर गरिने डिभिजन प्रमुख शर्माले जानकारी दिनुभयो । यसका साथै उक्त निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने प्रक्रियासमेत सुरु गरिएको छ । ठेक्काको पाँच प्रतिशत भौतिक प्रगति गरेको उक्त निर्माण व्यवसायीले ५५ लाख रुपियाँ भुक्तानी लिएको छ । सानीभेरी गाउँपालिका–२ का वडाध्यक्ष मानबहादुर पुनले सम्झौता भएको दशक पुग्दा पनि पुल निर्माणको काम नै नभएपछि सर्वसाधारणले सास्ती पाएको बताउनुभयो ।