• १३ साउन २०८१, आइतबार

ढाका उद्योगमा सफल उद्यमी इन्दिरा

blog

राधा लुइटेल 

फिदिम, जेठ ३२ गते ।  छोराछोरी पढाउने खर्चको जोहो गर्नकै लागि २२ वर्षअघि रुमाल बुनेर व्यवसाय गरेकी पाँचथरको फिदिम–१ की इन्दिरा खनाल अहिले सफल उद्यमीका रूपमा कहलिनुभएको छ ।

उहाँले सञ्चालन गरेको पाँचथर ढाका उद्योगमा अहिले एक दर्जन कपडा बुन्ने तान (हाते मेसिन) छन् । सबै खर्च कटाएर वार्षिक पाँच लाख रुपियाँभन्दा धेरै बचत गर्नुहुन्छ ।

देशविदेशबाट ढाका कपडाको माग बढेसँगै खनाल आफ्नो व्यवसायमा व्यस्त बन्नुभएको हो । उहाँ २२ वर्षअघि छोराछोरी पढाउन चोकमागुदेखि सदरमुकाम फिदिम आउनुभएको थियो । उहाँले भन्नुभयो, “श्रीमान् वैदेशिक रोजगारीमा गएपछि नानीहरूलाई स्कुल पठाएर दिनभर रुमाल बुन्न सिकेँ, बिस्तारै व्यवसाय विस्तार हुँदै जीवन र व्यवहार धान्ने माध्यम बन्यो ।” ढाका कपडा लिम्बू संस्कार र संस्कृतिमा पनि आधारित छ । ढाकाबाट बुनेका सारी, चोलो, चौबन्दी, पछ्यौरा, कोट र मफलर जस्ता सामग्री मेला, महोत्सव, उत्सव, विवाह आदिमा प्रयोग हुने गरेको छ ।

नेपाल मात्र नभएर वैदेशिक रोजगारीमा रहेका नेपालीले समेत रुचाउने भएकाले यी कपडा हङकङ, सिङ्गापुर र अमेरिकासम्म निर्यात हुने गरेको इन्दिरा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “माग बढेसँगै कहिलेकाहीँ पुर्‍याउन धौ धौ पर्छ ।” 

स्थानीय तहका जनप्रतिनिधि, सहकारी संस्थाका महिला सदस्य, आमा र बचत समूहका महिलाले संस्थागत पहिचानका लागि ढाकाकै कपडा लगाउने प्रचलन बढ्दै गएको छ । पुरुषहरूले लगाउने दौरा, सुरुवाल र टोपी ढाकाकै मन पराइने हुँदा बजार विस्तार हुँदै गएको उहाँको भनाइ छ । ढाका बुन्न मात्रै नभएर खनालले ढाका बुन्ने तालिमसमेत दिँदै आउनुभएको छ ।

हालसम्म पाँच सयभन्दा धेरै महिलालाई आफूले प्रशिक्षण दिइसकेको खनालको दाबी छ । तीमध्ये ५० महिला सफल उद्यमी कहलिएका छन् । योबाहेक उहाँको उद्योगमा १५ जना महिलाले ढाका कपडा बुन्न नियमित रोजगारी पाएका छन् ।

“अरू कपडाभन्दा केही महँगो भए पनि नेपाली पहिचान झल्कने र लगाउँदा राम्रो र न्यानो भएकाले यसको माग बढेको हो । सुरुमा बजारको समस्या थियो, अहिले  विदेशसम्मका ग्राहकको माग धान्न हम्मे परेको छ ।” नेपालमा उत्पादित ढाकाको सामग्रीको माग भारतको नेपाली बाहुल्य दार्जिलिङ, सिक्किम, आसामलगायतका सहरमा पनि राम्ररी बिक्छन् । खनालको उद्योगमा ढाकाका खादा र सिलाम साक्मा पनि तयार हुन्छ ।

पछिल्लो समय धेरै जसो महिला सामाजिक सञ्जालमा अल्झिइरहन्छन् । थोरै खर्च गर्ने रकम पनि परिवारमा आश्रित हुनु परेको छ । स्थान र सापेक्षतालाई हेरेर सिपमूलक व्यवसायमा संलग्न हुने हो भने आत्मनिर्भर बन्न मद्दत मिल्ने उहाँको सुझाव छ ।