रमेश विश्वकर्मा
गुल्मी, जेठ ३१ गते । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले कानुन निर्माणमा बौद्धिक बहसको थालनी गर्नुपर्ने बताउनुभएको छ । बिहीबार तम्घासमा लुम्बिनी प्रदेश सभा र स्थानीय तहबिच कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धी गरिएको पत्रकार भेटघाटमा उहाँले कानुन निमार्णमा बौद्धिक बहसमा कसैको ध्यान नपुगेको बताउनुभएको हो ।
सङ्घ, प्रदेश र स्थानीय तीन वटै सरकारले निर्माण गरेका कानुन एक आपसमा बाझिन सक्ने भन्दै सभामुख घर्तीले कानुनको अध्ययन गर्ने निकाय नहुँदा पनि व्यवस्थापनमा समस्या आएको बताउनुभयो । लुम्बिनी प्रदेशले नयाँ अभ्यासको थालनी गरेको भन्दै स्थानीय तहले निर्माण गरेका हरेक कानुन प्रदेशले अध्ययन गर्न जरुरी रहेको बताउनुभयो । कानुन निर्माण गर्दा तीनै तहले समन्वय र सहकार्य गर्न आवश्यक छ । कानुन निर्माण विधिसम्मत हुन जरुरी रहेको भन्दै उहाँले संवैधानिक प्रावधान अनुसार अभ्यास गर्न जरुरी रहेको बताउनुभयो ।
अधिकांश स्थानीय तहमा कानुन निर्माण तथा सभा सञ्चालन विधिसम्मत नभएको हुँदा संवैधानिक प्रावधान अनुसार गर्न जरुरी रहेको बताउनुभयो । स्थानीय तहसँग प्रदेश सभा कार्यक्रमको १० औँ जिल्लाका रूपमा गुल्मीमा गरिएको भन्दै सभामुख घर्तीले सात प्रदेशमध्ये यो नयाँ अभ्यास भएको बताउनुभयो । अगल-अलग तरिकाले काम गर्न नहुने भन्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबिचमा समन्वय हुन जरुरी रहेको बताउनुभयो ।