• ७ कात्तिक २०८१, बुधबार

विभेद अन्त्यका लागि अन्तर्क्रिया

blog

गुणबहादुर रोका 

सुलीकोट, जेठ ३१ गते। गोरखाको सहिद लखन गाउँपालिकामा जातीय विभेद र छुवाछुत अन्त्यका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ। बिहीबार सहिद लखन गाउँपालिकाको आयोजनमा पालिका भित्र रहेका जनप्रतिनिधि, कर्मचारी, दलित अगुवाको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरले जानकारी दिनुभयो।  

कार्यक्रममा सरोकारवालले सामाजिक विकृतिको रूपमा रहेको छुवाछुत अन्त्यका लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा पूर्व संविधान सभाका सदस्य पशुराम रम्तेलले कानुनमा छुवाछुत अन्त्य भनिएता पनि व्यावहारिक रूपमा अझै अन्त्य नहुनु दुखद रहेको बताउनुभयो। 

अहिले ३ वटा सरकार मध्ये सबै भन्दा बढी जनताको नजिक भएर काम गर्ने सरकार भनेको स्थानीय सरकार भएकाले संविधान र कानुन अनुसार कार्यान्वयन गराउने र स्थानीय रूपमा पनि कानुन बनाएर नीतिगत निर्णय गरी दलितको पक्षमा कानुन बनाएर दलित बस्तीमा सचेतना गर्न गाउँपालिकालाई रम्तेलले आग्रह गर्नुभयो। 

त्यस्तै अधिवक्ता रेसम सुनारले पनि छुवाछुत सामाजिक अपराध भएकाले कसैले छुवाछुत तथा विभेद गरेमा कानुनी कारबाहीको लागि आफू निःशुल्क रूपमा पीडितको पक्षमा रहेको बताउनुभयो। 

त्यसैगरी गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले गाउँपालिकाले दलितको उत्थान र विकास गर्न पालिका भरिका दलित अगुवा तथा दलित नेता पशराम रम्तेललाई कार्यक्रममा निमन्त्रण गरेर उहाँहरूको समस्या चुनौती र भोग्नु परेको पीडालाई बुझन आउने २०८१ /२०८२ गाउँसभा भन्दा अघि सुझाव माग गरिएकाले पालिकाले कार्यक्रम आयोजना गरेको अध्यक्ष थापा मगरले बताउनुभयो।