• १२ साउन २०८१, शनिबार

सिङ्सावा खोलामा आएको बाढीले तमोर नदी थुनियो

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित सिङ्सवा खोलामा आएको बाढीले तमोर नदी थुनिएको छ । बुधबार साँझपछि रातभरको वर्षासँगै सिङ्सवा खोलामा आएको बाढीले तमोर नदी थुनिएको हो ।

फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोक नजिक भएर बग्ने सिङ्सावा खोलामा पहिरोसहित बाढी आएको हो । बिहीबार बिहानी समयमा आएको बाढीले तापेथोक बगरस्थित तमोर नदी थुनेको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो । अध्यक्ष लिम्बूका अनुसार तमोर नदी थुनिएपछि विशाल ताल बनेको छ ।

सिङ्सावा खोलामा आएको पहिरोसहितको बाढीले थुनेर तमोर नदीमा बनेको ताल अपराह्नपछि भने क्रमशः खोलिँदै गएको लिम्बूले बताउनुभयो । तमोर नदी नै थुनिने गरी सिङ्सावा खोलामा बाढी आए पनि मानवीय क्षति भने नगरेको उहाँको भनाइ छ । बाढीले किसानले लगाएको अलैँची बाली, खेतीयोग्य जमिन तथा रुख, बोट बिरुवा बगाएर क्षति गरेको छ ।

यता गाउँपालिका अध्यक्ष लिम्बूले विज्ञप्ति जारी गर्दै तमोरमा पानीको बहाव बढ्नुका साथै गाउँका ठाडो खोला तथा खोल्साहरूमा बाढीपहिरो जान थालेपछि स्थानीय नागरिकलाई सतर्क र सुरक्षित रहन आग्रह गर्नुभएको छ । बर्खा मौसमसँगै निरन्तर पानी पर्न थालेकाले बाढी र पहिरोको जोखिम बढेको भन्दै सतर्क तथा सचेत रहन पालिकावासीलाई विज्ञप्ति जारी गरी उहाँले आग्रह गर्नुभएको हो ।

मनसुनका कारण आइपर्ने जोखिम र विपतका घटनाबाट कुनै समस्या आइपरे तत्काल गाउँपालिकाका पदाधिकारी, कर्मचारी र प्रहरीलाई खबर गर्न पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । ताप्लेजुङमा बितेको २४ घण्टामा १६.८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयका नायव विज्ञान सहायक सुयोग भट्टराईले जानकारी दिनुभयो ।