• १३ साउन २०८१, आइतबार

सेजमा एकाउन्न उद्योग सञ्चालनमा

blog

काठमाडौँ, जेठ ३१ गते । भैरहवा विशेष आर्थिक क्षेत्र र सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा १० अर्बभन्दा बढी लगानीमा ५१ वटा उद्योग सञ्चालनमा आएका छन् । आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार भैरहवा विशेष आर्थिक क्षेत्रमा आर्थिक वर्ष २०८०/०८१ को फागुनसम्म चार अर्ब ७२ करोड लगानीमा २४ उद्योग सञ्चालनमा आएका छन् । 

ती उद्योगबाट दुई हजार ४२९ व्यक्तिले रोजगारीसमेत प्राप्त गरेका छ । चालु आवको फागुनसम्म यस क्षेत्रमा एक खर्ब ३१ करोड लगानीमा थप सात उद्योग सञ्चालन गर्न अनुमति दिएको र ती उद्योग सञ्चालनबाट ४९९ जनालाई थप रोजगारी सिर्जना हुने अनुमान छ ।  

यस्तै सिमरा विशेष आर्थिक क्षेत्रमा चालु आवको फागुनसम्म पाँच अर्ब ५९ करोडको लगानीमा २७ उद्योग सञ्चालनमा रहेका र चार हजार ३७४ जनाले रोजगारी प्राप्त गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

चालु आवको फागुनसम्म यस क्षेत्रमा २३ करोड ९७ लाख लगानीमा थप तीन उद्योग सञ्चालन गर्न अनुमति दिइएको र उद्योग सञ्चालबाट ६७६ जनालाई थप रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । 

 गत वैशाखमा विशेष आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले अध्यादेशबाट ऐन संशोधन गरेर उद्योगी व्यवसायीको माग अनुसार अध्यादेशबाट विशेष आर्थिक क्षेत्र ऐनमा संशोधन गर्दै बाहिर सञ्चालनमा रहेका उद्योगलाई सार्न सक्ने सुविधा दिने व्यवस्था गरेको छ । मुलुकभित्रै रोजगारी सिर्जना गर्ने, निर्यात बढाउने तथा लगानीको वातावरणमा व्यापक सुधार हुने भन्दै सुरु भएको सेज अहिलेसम्म पनि प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन । 

यसैबिच चालु आवको फागुनसम्म छ हजार १६ रोपनी जग्गामा सञ्चालनमा रहेका १० औद्योगिक क्षेत्रभित्र कायम रहेका ७०३ उद्योगमध्ये ६१९ उद्योग सञ्चालनमा रहेका छन् भने ६२ उद्योग निर्माणाधीन र २२ उद्योग बन्द रहेका छन् । 

सञ्चालनमा रहेका उद्योगबाट १९ हजार १२८ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । यस्ता उद्योगबाट वार्षिक २० अर्ब बराबरको राजस्वसमेत सङ्कलन हुने गरेको अनुमान गरिएको छ । १० औद्योगिक क्षेत्रमा नेपाल सरकारबाट ५५ अर्ब ३४ करोड ५० लाख र निजी क्षेत्रबाट २० अर्ब ३१ करोड ५१ लाख गरी ७५ अर्ब ६६ करोड एक लाख बराबरको लगानी भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

यस्तै हरेक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने नीति अनुसार चालु आवको फागुनसम्म कोशी प्रदेशको दमक–झापा, बागमती प्रदेशको मयूरधाप–हेटौँडा तथा शक्तिखोर– चितवन, लुुम्बिनी प्रदेशको मोतीपुर–रुपन्देही, लक्ष्मीपुर–दाङ तथा नौवस्ता–बाँके र सुदूरपश्चिम प्रदेशको कञ्चनपुर–दजी गरी सात औद्योगिक क्षेत्र घोषणा भई प्रारम्भिक कार्य अगाडि बढेको छ । 

यसैबिच ग्रामीण क्षेत्रमा उद्यम सिर्जनामा टेवा पु¥याउन औद्योगिक ग्रामलाई रूपान्तरणकारी आयोजनाका रूपमा अगाडि बढाइएको छ । सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य रहेकोमा फागुनसम्म १२० स्थानीय तहमा १२० औद्योगिक ग्राम घोषण भई निर्माणाधीन रहेका छन् । 

प्रत्येक वर्ष स्थानीय तहमा ग्राम घोषणा भए पनि निर्माण सम्पन्न भई अझै सञ्चालनमा आउन सकेको छैन । सरकारले छ वर्षदेखि स्थानीय स्रोत साधनको परिचालन गरी स्थानीयस्तरमा रोजगारी अभिवृद्धि गर्ने उद्देश्य अनुरूप औद्योगिक ग्राम घोषणा गरेको थियो ।