• १२ साउन २०८१, शनिबार

प्रजातन्त्र दिवसमा छुटेका कैदी २३ वर्षपछि समातिए

blog

काठमाडौँ, जेठ ३१ गते । कर्तव्य ज्यानको कसुरमा अदालतबाट सर्वस्वसहित जन्मकैद फैसला सुनाइएको भए पनि सरकारको सिफारिसमा छुटेका 

दुई जना कैदीलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू दोलखा मेलुङ–१ का साधुराम भन्ने खड्गबहादुर दमाई र केदार भन्ने दुर्गबहादुर दमाईलाई मङ्गलबार काठमाडौँबाट पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक अङ्कुर जिसीका अनुसार राष्ट्रिय प्रजातन्त्र दिवस–२०५६ का अवसरमा कारागार शाखा काठमाडौँको कैदी चलानी नम्बर २७३४ को पत्र अनुसार दुवै जना २०५६ फागुन ७ गते कैद मिनाहामा परेका थिए ।

२०४८ असार १९ गते बिहान दुर्गबहादुर दमाईसहितका आरोपीले खेतमा काम गरिरहनुभएका काला उप्रेती (हत्या गरिएका) उहाँका बुवा जगन्नाथ उप्रेती र आमा महाकाली उप्रेतीलाई भाला र घरेलु हतियार प्रहार गरेका थिए । काला उप्रेतीको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते बुवा जगन्नाथ र आमा महाकालीलाई स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पु¥याएका थिए । 

घटनाका कारण रिसिइबी रहेको खुलेको प्रहरीले जनाएको छ । २०५३ माघ २५ गते दोलखा जिल्ला अदालतले दुर्गबहादुर दमाई र खड्गबहादुर दमाईलाई सर्वस्वसहित जन्मकैद सजाय फैसला सुनाएको थियो  ।

कारागार व्यवस्थापन विभागको चलानी नम्बर ७०३ अनुसार सर्वस्वसहित जन्मकैद सजाय फैसला भएका उनीहरू प्रजातन्त्र दिवस २०५६ फागुन ६ गते असल चालचलन भएको भन्दै कैद मिनाहामा परेका थिए । 

कारागार व्यवस्थापन विभागको सो विवादास्पद फैसलाविरुद्ध मृतकका दाजु गणेशप्रसाद उप्रेतीले २०५८ मङ्सिर ७ गते सर्वोच्च अदालतमा पुनरावेदन गर्नुभएको थियो । सर्वोच्च अदालतले जिल्ला अदालतको फैसला अनुसार पुनः सर्वस्वसहित जन्मकैद फैसला सदर गरेको थियो ।  

अदालतको फैसला अनुसार ११ वर्ष चार महिना १३ दिन कैद भुक्तान गर्न बाँकी रहेका उनीहरू फरार रहेको अवस्थामा अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ कागेश्वरी मनोहरा–६ बाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रहरी उपरीक्षक जिसीले जानकारी दिनुभयो ।