• १२ असोज २०८१, शनिबार

बेवारिसे महिलामाथि बलात्कार गरेर फरार युवक पक्राउ

blog

जनार्जन खत्री
सर्लाही, जेठ ३० गते ।
 सडकमा बेवारिसे भएर हिँड्ने महिलालाई जबरजस्तीकरणी गरेर फरार रहेका एक युवकलाई प्रहरीले सर्लाहीको जिरायतबाट पक्राउ गरेको छ ।

जेठ १३ गते बागमती नगरपालिका–४, जिरायतस्थित डाँडाटोलदेखि नयाँबस्तीतर्फ जाने सडक किनारमा एक महिला अचेत अवस्थामा फेला पर्नुभएको थियो । अन्दाजी ३५ वर्षीया ती महिलालाई तत्कालै प्रहरी पुगेर उद्धार गर्‍यो ।

महिलालाई प्रादेशिक अस्पताल मलङ्गवा लगेर उपचार गराउँदा आफूमाथि जबरजस्तीकरणी भएको बताउनुभयो । त्यसपछि घटनाको अनुसन्धानमा जुटेको प्रहरीले जबरजस्तीकरणीमा संलग्न बसबरिया गाउँपालिका–३, भवानीपुर मुसहरी टोल बस्ने ३५ वर्षीय रमण माझीलाई पक्राउ गरेको हो ।

माझीलाई बागमती नगरपालिका–४, स्थित मगर टोल–जिरायत सडकमा हिँडिरहेको अवस्थामा पक्राउ गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । माझीले अपराध स्वीकार गरेका प्रहरीको दाबी छ ।

जिरायत क्षेत्रमा मजदुरीको काम गर्ने माझीविरुद्ध सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार सिसी टिभी फुटेजका आधारमा अनुसन्धान गर्दै जाँदा माझीको उक्त घटनामा संलग्नता रहेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको हो ।

पीडित महिलाको अहिले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) वीरगन्जमा उपचार भइरहेको हरिवनका प्रहरी निरीक्षक गिरीले बताउनुभएको छ । मानसिक सन्तुलक ठिक नरहेको पीडित महिलाले आफ्नो घर सप्तरी बताए पनि यकिन हुन सकेको छैन ।