• ८ असार २०८१, शनिबार

सिथी नखःमा गरियो पानीको मुहान सरसफाइ (फोटो फिचर)

blog

बुधबार सिथी नखःको दिन ललितपुरको भिन्छे टोलमा रहेको ढुङ्गेधारा सरसफाइ गर्दै नेवा: समुदाय । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ ३० गते । नेवा: (नेवार) जातिका विभिन्न चाडपर्वमध्ये सिथी नख: भिन्न तरिकाले मनाइन्छ । नेवा: जातिका हरेक चाडपर्वमा भोज खाने, मन्दिर गएर पूजा गर्ने चलनभन्दा पृथक् रूपमा यो पर्व मनाइन्छ ।

आज (बुधबार) पानीका स्रोतहरूको सरसफाइ गर्दै विभिन्न परिकारको भोजन गरेर मनाउने चलन छ । नेवा: जातिले यस पर्वको दिन इनार, ढुङ्गेधारा, कुवा, पोखरी सफा गर्ने गर्छन् । यसरी आफ्ना टोलका मानिसहरू मिलेर नजिकै रहेका इनार, ढुङ्गेधारा, कुवा, पोखरी सफा गर्ने गर्छन् ।

लामो समयदेखिको सुख्खायाम भएकाले यसबेला पानीको सतह पूरै घट्ने गर्छ । सिथी नखःका दिन मुहान सफा गयो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास रहेको संस्कृतिविद्को भनाइ छ ।काठमाडौँ उपत्यकाका नेवार समुदायले सिथि नख: मनाएका छन् ।

सिथी नखःको दिन सफा गरेको इनार, ढुङ्गेधारा र कुवाको पानी भने चार दिनसम्म प्रयोग गर्न नहुने परम्परा रहेको छ । पानीको मुहान सफा गरेपछि पानी जम्न समय लाग्नुका साथै फोहोर हुने भएकाले चार दिनपछि मात्रै चलाउने गरिन्छ । सिथि नख: पर्वले मनसुन सुरु हुन लागेको सङ्केत गर्ने गर्दछ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।