• १३ साउन २०८१, आइतबार

पोखरामा पर्यटन विस्तार सन्तोषजनक

blog

सन्तोष सुवेदी

कास्की, जेठ ३० गते । पोखरालाई पर्यटनको राजधानी घोषणासँगै समग्र पर्यटन क्षेत्रमा अहिले आशाको किरण छाएको छ । योसँगै पर्यटन क्षेत्रमा लगानी पनि बढ्दो देखिन्छ । कोभिडले केही समय शिथिल पारेको पर्यटन क्षेत्र अहिले बिस्तारै पुरानै गतिमा अघि बढेको छ । सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा वामे सरेको पोखरा अहिले विश्व पर्यटन बजारको ‘ब्रान्ड’ बनेको छ । त्यसो त पोखरामा पर्यटकीय गन्तव्य प्रशस्त छन् । प्राचीन संस्कृति, कला र सभ्यताका दृष्टिले पनि पोखरा र सिङ्गो गण्डकी प्रदेश अगाडि छ । अहिले पोखरामा पर्यटनका लागि ठुलो लगानी छ । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार समग्र गण्डकी प्रदेशमा सात खर्ब रुपियाँ लगानी भएको छ । उहाँले पोखरामा मात्रै छ खर्ब पर्यटन क्षेत्रमा लगानी भएको बताउनुभयो । “पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट बनेसँगै पर्यटन आउने आसले यस क्षेत्रमा लगानी बढेको छ । बाहिरबाट सिधै पोखरा पर्यटक आउन सक्ने भएपछि यहाँको पर्यटन क्षेत्र फस्टाउने अनुभूति व्यवसायीको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भइसकेको छैन । अघिल्लो वर्ष पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टरसहित जम्मा सात वटा अन्तर्राष्ट्रिय उडान भएका थिए,” उहाँले भन्नुभयो ।  

अध्यक्ष श्रेष्ठका अनुसार वर्षभरि उडान भरेर पाँच/छ लाख र स्थलमार्गबाट झन्डै १० लाख पर्यटन पोखरा आउने गर्छन् । पर्यटक लिएर दैनिक ५० वटा गाडी आउने गरेका छन् । त्यसमा सबैभन्दा भारतका पर्यटक हुन्छन् । स्वदेशी र विदेशी गरी वर्षमा झन्डै १० लाख पर्यटक आउने अनुमान गरिएको छ । उहाँका अनुसार पोखरामा मात्रै बर्सेनि २० लाख पर्यटक भित्र्याउने योजनासहित पोखरा महानगर, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयसहित पर्यटन सम्बद्ध सङ्घसंस्था मिलेर सरकारसँग माग गरिएको छ । पोखराको पर्यटनमा सबैभन्दा बढी हिस्सा होटलले ओगटेको छ । होटलमा मात्र पाँच खर्ब लगानी छ । पोखराको प्राकृतिक संरचना, पूर्वाधार, आवश्यक सेवासुविधा, होटल, ट्राभल, टे«किङ, क्यासिनो, नाइट लाइभ, एयरपोर्टलगायत सबै सुविधा छन् । होटल सङ्घ पोखरा नेपाल अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पोखराभरि करिब एक हजार दुई सय होटल छन् । तीमध्ये पर्यटकीय स्तरका सात सयभन्दा बढी होटल छन् । पोखरामा रहेका होटेलमा एकै रातमा ४० हजार पाहुना राख्न सक्छन् । 

पोखरामा तत्काल अन्तर्राष्ट्रिय उडान हुन आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार सरकारले तत्काल अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आवश्यक छ । “पोखरा विमानस्थलले हवाई पर्यटक भित्र्याउन सघाउ पुगे पनि अन्तर्राष्ट्रिय उडान भने निकै नै आवश्यकता छ । पोखरा आउने भारतीय पर्यटकमध्ये झन्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनका लागि जाने गर्छन् । व्यवस्थित प्रचारप्रसार र प्रवर्धन गर्न सके पोखरामा सजिलै बर्सेनि २० लाख भारतीय पर्यटक भित्र्याउन सकिन्छ,” उहाँले भन्नुभयो ।