• १२ साउन २०८१, शनिबार

प्रारम्भ नेपालद्वारा स्वास्थ्य सामग्री वितरण

blog

कार्यक्रममा सहभागी विद्यार्थी । तस्बिर : कविता थापा

काठमाडौँ, जेठ २९ गते । प्रारम्भ नेपालले सिंगापुर रेडक्रसको सहकार्यमा काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ७ स्थित श्री राधाकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी तथा अभिभावकलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । 

प्रारम्भ नेपालका अध्यक्ष तथा सिंगापुर रेडक्रसका नेपालकी प्रतिनिधि कल्पना क्षेत्रीले उनीहरूलाई पोषण, उच्च रक्तचाप, मधुमेहलगायतका दीर्घरोग र यसका जोखिमबारे अभिमुखीकरण गराएको र सातु लगायतका पोषण तथा स्वास्थ्य सामग्री वितरण गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अमेरिकामा मनोचिकित्सक विषयमा अध्ययन गरी नेपाल आएका डा.प्रतिभा श्रेष्ठले सो अभिमुखीकरण तालिम दिनुभएको थियो । 


उहाँले यस कार्यक्रममा सात सदस्यीय सिंगापुर रेडक्रसका स्वंयमसेवकको टोलीको सहभागिता रहेको बताउनुभयो । सो विद्यालय, वडा कार्यालय र स्वास्थ्य चौकीका लागि एक-एक वटा गरी तीन वटा झन्डै आठ लाख बराबरको फिल्टर र चापाखोरी स्वास्थ्य चौकीका लागि रक्तचाप नाप्ने पाँच वटा डिजिटल मेशिन उपलब्ध गराई सहयोग गरेको बताउनुभयो । 

प्रारम्भ नेपालले २०७२ सालदेखि सिंगापुर रेडक्रससँगको सहकार्यमा नेपालमा आएका विपद् महाभूकम्प, कोभिड-१९, २०८० को जाजरकोटको भूकम्प, हुम्लामा पाँच हजारभन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण, शल्यक्रिया, आवश्यक औषधि उपलब्ध गराउने जस्ता सामाजिक कार्य गरेको छ ।