• १२ साउन २०८१, शनिबार

३० औँ विश्व आदिवासी दिवस मनाउन जातीय संघसंस्थासँग छलफल

blog

काठमाडौँ, साउन १२ गते । ३० औँ विश्व आदिवासी दिवस मनाइने भएको छ । हरेक वर्ष मनाउँदै आएको दिवस यस वर्ष ‘संविधान प्रदत्त अधिकार आदिवासीको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, एक प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर’ भन्ने मूल नारासहित दिवस मनाउन लागिएको हो । 

नेफिनको बैठकले उक्त नारा तय गरेको बरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले जानकारी दिनुभयो । यस वर्ष संयुक्त राष्ट्र संघले मूल अन्तर्राष्ट्रिय नारा तय गरेको छ । यसैबिच नेफिनले अगस्ट ९ (साउन २५ गते) विश्व आदिवासी दिवस मनाउने सन्दर्भमा महासंघमा आबद्ध जातीय संघसंस्थासँग छलफल गरेको हो । यस वर्ष पनि हरेक वर्ष जस्तै सप्ताहव्यापीरुपमा दिवस मनाउने तयारी गरिएको नेफिनका महासचिव दिवश राईले जानकारी दिनुभयो । 


नेपालका आदिवासी जनजातिहरुका मातृभाषा र लोक भाकामा बनेका गीतहरु, सांस्कृतिक झाँकी, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेषभूषा, सांस्कृतिक झाँकीसहित र्यालिको आयोजना गर्ने महासंघले जनाएको छ । महासंघले आदिवासी दिवसलाई सप्ताहव्यापीरुपमा मनाउन आ-आफ्नो जातीय संस्थामार्फत तय गरिएका कार्यक्रमका बारेमा महासंघलाई जानकारी दिनसमेत आग्रह गरेको छ । 

त्यस अवसरमा जनजातिहरुको विभिन्न मौलिक खानपिनको प्रदर्शनी तथा बिक्री वितरण स्टलसमेत राखिने महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार दिवसको नारा तय भइसकेको र मूल समारोहका दिनमा धेरै सहभागिता जनाउने गरी तयारी गर्न आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।