• १२ साउन २०८१, शनिबार

मुसहर महिलालाई वित्तीय साक्षरता

blog

मुसहर महिलालाई वित्तीय साक्षरता प्रदान गरिँदै । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, जेठ २९ गते । सर्लाहीको बरहथवा नगरपालिका-८ टाँडीका लीला पासवान अहिले घरबारविहीन हुनुभएको छ । पाँच धुर जग्गामा बनेको पक्की घर साहुलाई बुझाएर उहाँ डेरा गरेर बस्नुभएको छ । तीन वर्षअघि लिएको छ लाख रुपियाँ ऋण र त्यसको चर्को ब्याजले उहाँको परिवार घरबारविहीन हुनुपरेको हो । 

तीन वर्षमा छ लाख साँवाको ब्याज समेत गरेर १३ लाख ९० हजार रुपियाँ साहुलाई बुझाउनु पर्ने अवस्था आयो । ज्याला मजदुरी गरेर परिवार पाल्दै आउनुभएका उहाँलाई अहिले १४ लाख तिर्न पहाड फोडेजस्तै भएको छ । 

अनेक प्रयास गर्दा पनि पैसा बुझाउन नसकेपछि उहाँले घरघडेरी नै साहुलाई बुझाउनुभएको हो । “पाँच रुपियाँ ब्याजमा छ लाख रुपियाँ ऋण लिँदा १४ लाख रुपियाँ पुग्यो,” पासवानले भन्नुभयो, “कसैगरी पनि तिर्न नसकेपछि घरघडेरी नै साहुलाई बुझाएर डेरामा बसेको छु ।” 

पासवानलाई जस्तै सर्लाहीमा बसोबास गर्ने अन्य पासवान, मुसहर लगायत दलित परिवार मिटरब्याजको चपेटामा परेका छन् । साहुसँग लिउको ऋण तिर्न नसकेर कमारो बस्ने चलन मुसहर बस्तीमा अझै छ । साहुबाट लिएको ऋण तिर्न नसकेर टाँडीकै लालो माझीको परिवार विस्थापित हुन पुग्यो । १० वर्षअघि लिएको २० हजार ऋणको साँवा ब्याज तिर्न नसकेर उहाँको परिवारले त गाउँ नै छाड्नु परेको छ ।  

छ वर्ष साहुको घरमा कमारो बस्दा पनि ऋण तिर्न नसकेपछि उहाँको पूरै परिवार अहिले मजदुरीका लागि भारत पुगेको हो । सर्लाहीमा २० हजार बढी मुसहर समुदायको बसोबास छ । 

त्यसमध्ये ६० प्रतिशत मुसहर समुदाय मिटरब्याजको चपेटामा रहेका नेपाल मुसहर सङ्घ सर्लाहीका अध्यक्ष ऋतुराज ऋषिले जानकारी दिनुभयो । यसरी मिटरब्याजबाट ग्रसित रहेका मुसहर समुदायका लागि सर्लाहीको चार पालिकामा वित्तीय साक्षरता अभियानको सुरुवात गरिएको छ । 

नबिल बैङ्क र साउथ एसिया पार्टनरशीप नेपाल (साप नेपाल) ले वित्तीय साक्षरता कक्षा सञ्चालन गरेका हुन् । जिल्लाको बरहथवा र हरिपुर नगरपालिका तथा चन्द्रनगर र बसबरिया गाउँपालिकामा १२० परिवारलाई वित्तीय साक्षरता कक्षामा समावेश गरिएको छ । 

वित्तीय साक्षरता कक्षामा सहभागी भएकाले मुसहर बस्तीमा अरूलाई पनि बुझाउन भूमिका खेल्ने गरी प्रतिनिधिमूलक रूपमा सहभागी गराइएको साप नेपालका प्रादेशिक निर्देशक जनक कार्कीले जानकारी दिनुभयो । मुसहर महिलालाई बचतको महत्त्व बुझाउँदै मिटरब्याजको जोखिमबाट मुक्त गर्न कक्षा सञ्चालन गरिएको कार्कीले बताउनुभयो । 

बैङ्क तथा सहकारीबाट ऋण लिँदा घरजग्गा लिलाम हुन्छ भन्ने डर मुसहर समुदायमा रहेको छ । साहुसँग लिएको चर्को ब्याजबाट मुक्त गरी मुसहर समुदायलाई बैङ्क र सहकारीसम्म पुर्‍याउन कार्यक्रम गरिएको हो । बचत गर्ने बानीको विकास र त्यसको फाइदा बुझाउन वित्तीय साक्षरता कक्षा चलाइएको साप नेपालका कोषाध्यक्ष केदार प्रसाद गौतमले जानकारी दिनुभयो । चरम गरिबी, अशिक्षा, रोग र भोकले आक्रान्त मुसहर समुदाय गाउँका धनाढ्यको आर्थिक शोषणमा छन् । 

साप–नेपालले यसअघि सर्लाहीका यी चार पालिकामा मुसहर महिला सशक्तीकरण परियोजना सञ्चालन गरेको थियो । सो परियोजना अन्तर्गत मुसहर महिलाकै अग्रसरतामा चन्द्रनगर र हरिपुरमा महाजनमुक्त बचत तथा ऋण सहकारी संस्था स्थापना गरिएको छ । 

चन्द्रनगरको सहकारीमा ८५० जना र हरिपुरको सहकारीमा ५०० जना महिला शेयर सदस्य रहेका छन् । वित्तीय साक्षरता कक्षामा नबिल बैङ्कका क्लष्टर म्यानेजर दिनेश अधिकारी, स्वस्तिक सहकारी बयलवासका व्यवस्थापक विनोद थापा, नबिल बैङ्क बरहथवा शाखाका प्रमुख रामबाबु थापा, हरिवन शाखा प्रमुख उत्सव विडारी, लालबन्दी शाखा प्रमुख श्यामबाबु दाहाल, साप नेपालका कोषाध्यक्ष केदार प्रसाद गौतमले सहजीकरण गर्नुभएको छ ।