• ३२ जेठ २०८१, शुक्रबार

सार्वजनिक शौचालय निर्माण हुँदै

blog

सार्वजनिक शौचालय निर्माण गरिदै ।

बिन्दु थापा 

पाल्पा, जेठ २८ गते । तानसेन नगरपालिका–११ मा सार्वजनिक शौचालय निर्माणको काम सुरु भएको छ । ‘एक वडा एक सार्वजनिक शौचालय’ कार्यक्रम अन्तर्गत तानसेन –११ तिनला कुरीमा शौचालय निर्माण गर्न थालिएको हो । 

वडा ११ मा बन्ने शौचालयमा महिनावारीमा हुने कठिनाइलाई मध्यनजर गर्दै यसका लागि ‘सेनेटरी प्याड’ राखिने भएको छ । वडा ११ का अध्यक्ष यादवसिंह कार्कीले यस वडामा ऐतिहासिक मन्दिर लिपिन्देवीमा लाग्ने मेलामा आउने भक्तजनका लागि शौचालय अपर्याप्त हुनेगरेकाले अब सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

कार्कीले भन्नुभयो, ‘मुख्य सडक पर्ने भएकाले यहाँबाट छहरा, बतासे, गुल्मी, अर्घाखाँची लगायतका ठाउँमा जाने सवारी साधन यही रोक्ने र सबैलाई पायक पर्ने गरी तिनला कुरीमा शौचालय निर्माण गर्न लागिएको हो ।’ 

नगरपालिकाको एक वडा एक शौचालय कार्यक्रम सार्वजनिक जग्गा नहुँदा सफल हुन नसकेको तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । अपुरो र अधुरो कामलाई आगामी बर्ष पूरा गर्नेगरी काम गर्ने योजना रहेको श्रेष्ठको भनाइ छ । नगरपालिकाले वडा ३, २, ६ मा सार्वजनिक शौचालय निर्माण गर्दैछ  ।