• १२ साउन २०८१, शनिबार

शास्त्रीय एवम् परम्परागत नृत्य प्रस्तुति

blog

काठमाडौँ, जेठ २८ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नृत्य विभागद्वारा शास्त्रीय एवम् परम्परागत नृत्य प्रस्तुत गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न शास्त्रीय एवम् परम्परागत नृत्यहरू प्रस्तुत गरिएको हो ।

पिस कल्चर ग्रुपबाट सनब खड्गी एवम् सङ्गीता खड्गीले नेपालको परम्परागत भैरवकाली नृत्य प्रस्तुत गर्नुभयो । यस्तै, एस्थेटिक डान्स स्टुडियोबाट नृत्याङ्गना नम्रता के.शीले कथक नृत्यमा आधारित तीन वटा नृत्य प्रस्तुति दिनुभयो । सौजन रघुवशीं तथा प्रमीला श्रेष्ठले बंगामुखी, ऋतु रङ्ग लगायतले भरतनाट्यम आधारित रहेर नृत्य प्रस्तुति दिनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हर्ताम्छलीले कार्यक्रम सार्थक र उपलब्धिमूलक भएको बताउनुहुँदै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान कला र संस्कृतिको संरक्षणका लागि संयुक्त रूपमा अघि बढ्नु पर्ने बताउनुभयो । 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् कार्यक्रमका सभाध्यक्ष शम्भु राईले लोप हुने अवस्थामा पुगेका कला संस्कृतिलाई यस प्रज्ञा प्रतिष्ठानले विविध प्रदर्शनमूलक कार्यक्रम तथा अध्ययन अनुसन्धानका माध्यमबाट सङ्ग्रहित गरिरहेको जानकारी गराउँदै नेपाली कला र संस्कृतिको क्षेत्रमा भएका विकृति र विसङ्गतिलाई नियमन गर्ने निकाय नरहेको अवस्थामा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमार्फत नियमन र नियन्त्रण गर्न सकिने बताउनुभयो । 

कार्यक्रममा बोल्नुहुँदै नृत्य विभाग प्रमुख एवम् कार्यक्रम संयोजक बखत बहादुर हमालले उद्देश्यमाथि प्रकाश पार्नुहुँदै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रदर्शनमूलक तथा अध्ययन र अनुसन्धानात्मक कार्यलाई सँगसँग लिएर अगाडि बढिरहेको बताउनुभयो ।

सञ्चारकर्मी हरि पुनले सञ्चालन गर्नुभएको कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुस्मा महरा, प्राज्ञ परिषद् सदस्य टिका पुन, कर्ण गौतम, हिसन बहादुर मगर, डक्टर किरात, वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा, के.पी पौडेल, राधेश्याम प्रधान, नारायणदेवी प्रधान, जोगेन्द्र केसी, आरसी कोइराला, वरिष्ठ समालोचक ईश्वरचन्द्र ज्ञवाली, अध्यता गोविन्द खनिया, नृत्य निर्देशक सङ्घका उपाध्यक्ष शम्भु शाही, जनसांस्कृतिक सङ्घ नेपालका अध्यक्ष भीम मल्ल कुमाखी लगायत लालीगुराँस नेशनल एकेडेमी, एन्जलस हार्टस् स्कुल तथा स्वेत सदनका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो ।