मुग्लिन (चितवन), जेठ २८ गते । शिलान्यास भएको झण्डै छ वर्षपछि चितवनको इच्छाकामना गाउँपालिका-६ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । वि.सं.२०७५ भदौमा सो भवनको शिलान्यास गरिएको हो ।
एक करोडभन्दा बढीको लागतमा निर्माण गरिएको उक्त वडा कार्यालय भवनको आइतबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उद्घाटन गर्नुभयो । भवन निर्माणको काम छ वर्षअघि थाले पनि जग्गाको स्वामित्वबारे विवाद हुँदा निर्माणमा ढिलाइ भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो ।
जग्गा स्वामित्वको कानुनी प्रक्रिया हल गरी भवन निर्माण गरिएको उहाँको भनाइ छ । “भवन निर्माण गरेर कार्यालय सञ्चालनमा आएको छ’’, अध्यक्ष गुरुङले भन्नुभयो । उद्घाटन कार्यक्रममा जग्गादाता र पूर्व वडा अध्यक्ष भूपेन्द्र चेपाङलाई सम्मान गरिएको थियो । रासस