काठमाडौँ, जेठ २८ गते । छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीय मन्त्री एस जयशङ्करले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड बस्नुभएको होटल ताजमा सोमबार भएको भेटमा उहाँहरूबिच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवम् समझदारी कार्यान्वयनका विषयमा छलफल भएको छ ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त हुनुभएकोमा जयशङ्करलाई हार्दिक बधाई एवम् कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा दुई देशबिच रहीआएको आपसी एवम् जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी मन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएकोमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले दुई देशबीच भएका सम्झौता एवम् समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराउनुभएको थियो ।
भेटमा प्रधानमन्त्रीका सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत भारतस्थित नेपाली राजदूतावासका उच्च अधिकारीको सहभागिता थियो भने भारतको विदेश मन्त्रालयका उच्चअधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।