• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर)

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गर्नुहुँदै । तस्विरः केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालका लागि आज अपरान्ह हुने शपथ ग्रहण कार्यक्रममा भाग लिन प्रधानमन्त्री प्रचण्ड नेपाली टोलीसहित दिउँसो त्यता प्रस्थान गर्नुभएको हो । 

भारतीय समकक्षी मोदीको शपथ ग्रहण कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्डले उहाँसँग संक्षिप्त कुराकानी गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतबार अपरान्ह ७:१५ मा आयोजना हुने शपथ ग्रहण समारोहका लागि यसअघि दुई प्रधानमन्त्रीबिच भएको टेलिफोन संवादमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गर्नुभएको थियो । 

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत गरेको थियो । यसैबिच प्रधानमन्त्री प्रचण्डले शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटगरी भारत भ्रमणबारे जानकारी गराउनुभएको थियो । 

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, प्रम प्रचण्डका सुपुत्री गङ्गा दाहाललगायत सहभागी रहनुभएको छ । प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम छ । 

प्रधानमन्त्री प्रचण्डलाई बिदाइ गर्न उपप्रधानमन्त्री रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । सो अवसरमा नेपाली सेनाले प्रधानमन्त्री प्रचण्डलाई बिदाइमा गारत अर्पण गरेको थियो ।