• १२ मंसिर २०८१, बुधबार

प्रतिनिधि सभा बैठक पुस्तिका नआउँदा रोकियो छलफल

blog

काठमाडौँ, जेठ २८ गते । विनियोजन विधेयक २०८१ को मन्त्रालयगत रूपमा छुट्याइएको बजेटको विवरण पुस्तिका समयमा नै संसद्ले नपाउँदा छलफल प्रभावित भएको छ । आइतबारदेखि प्रतिनिधि सभामा मन्त्रालयगत छलफल गर्ने कार्यसूची तय भए पनि समयमा नै विवरण प्राप्त नहुँदा छलफल दुई दिन पर सारिएको हो ।

मङ्गलबारदेखि छलफल गर्ने गरी संसद् सचिवालयले नयाँ कार्यतालिका निर्माण गरेको छ । आइतबारसम्म पाँच वटा मन्त्रालयको मात्र विवरण सचिवालयले प्राप्त गरेको छ । प्राप्त भएका विवरण सांसदले अध्ययन गर्न नपाएको भन्दै बैठक सारिएको हो । सभामुख निवास बालुवाटारमा आइतबार बिहान बसेको सभामुख र दलका प्रमुख सचेतक/सचेतकको बैठकले छलफल सार्ने निर्णय गरेको हो । 

पाँच मन्त्रालयको विवरण आए पनि सम्भावित कार्यतालिकामा समेटिएका सबैको जानकारी आइसकेको छैन । पाँचमध्ये तीन मन्त्रालयको विवरण शुक्रबार र दुईको शनिबार मात्र प्राप्त भएको हो । 

सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले मन्त्रालयहरूको विवरण आइनसकेकाले छलफल प्रभावित भएको बताउनुभयो । गिरीले भन्नुभयो, “विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयको विवरण सबै आइसकेको छैन । हामीले शुक्रबार र शनिबार गरेर पाँच वटा मन्त्रालयको विवरण पाएका छौँ । माननीयज्यूहरूलाई विवरण अध्ययनको समय पनि दिनुपर्ने भएकाले छलफल प्रारम्भ भएको छैन । सबै विवरण आइसकेको छैन ।”

सचिवालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, रक्षा र सहरी विकास मन्त्रालयको विवरण सचिवालयमा आइसकेको छ तर आइतबार विवरण नआएको वन तथा वातावरण मन्त्रालयको छलफल पनि सम्भावित कार्यसूचीमा थियो । बाँकी अन्य मन्त्रालय तथा प्रधानमन्त्री कार्यालय र मातहतका निकाय, संवैधानिक आयोग तथा निकायको विवरण आइसकेको छैन । ती विवरण प्राप्त भएपछि मन्त्रालयगत छलफल हुने छ । 

संसद्ले आइतबारदेखि मन्त्रालयगत छलफलको तालिका बनाएको थियो । शुक्रबारसम्म नै प्रतिनिधि सभा निरन्तर चलाउने गरी सम्भावित कार्यतालिका यसअघि बनाइएको थियो । छलफल प्रभावित भएसँगै कार्यतालिका पनि हेरफेर हुने भएको छ ।  सरकारले जेठ १५ गते सङ्घीय संसद्मा वार्षिक बजेट पेस गरेको थियो । दुवै सदनमा बजेटबारेको सैद्धान्तिक छलफल र जवाफ सकिएको छ । सैद्धान्तिक छलफल सकिएपछि मन्त्रालयगत छलफल तोकिएको थियो ।