• १३ मंसिर २०८१, बिहिबार

अजुवा खोलामा मोटरेबल पुल निर्माण

blog

गुणबहादुर रोका 

सुलीकोट, जेठ २७ गते । बेनीघाट-आरुघाट-लार्के सडकखण्ड अन्तर्गत आरुघाट गाउँपालिकाको ३ र ४ नम्बर वडा जोड्ने अजुवा खोलामा मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको-३ र ४ नम्बर वडा जोड्ने आर्खेत खोलामा मोटरेबल पुल विगत ७ वर्षदेखि अलपत्र अवस्थामा रहेता पनि अहिले भने पुल निर्माणले तीव्र गति लिएकाले पुल निर्माणको अन्तिम चरणमा पुगेको गोरखा सडक योजना कार्यालय गोरखाका इन्जिनियर गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार मोटरेबल पुल निर्माणका लागि कन्काई गोरखा एप्रोपियट जेभीसँग २०७४ साल जेठमा सम्झौता भई २०७६ साल असार ३० भित्र नै दुई वर्षमा सकिने गरी काम अघि बढाइएता पनि निर्माण कम्पनीले विभिन्न कारण देखाई म्याद थपको लागि पटक पटक कार्यालयमा निवेदन दिएपछि तीन पटक म्याद थपेपछि मात्र पुल निर्माण सम्पन्न हुन लागेको हो । आरुघाट र चुमनुब्री  गाउँपालिकाको कार्यालयदेखि सामा गाउँ सम्मको चाइनाको बोर्डर सम्म पुग्ने त्यही पुल २५ मिटर लम्बाइको छ । 

मोटरेबल पुल निर्माणसँगै पुलको वारिपारि ५०-५० मिटर एप्रोच रोड समेत निर्माण भएको छ । गोरखा सडक योजना कार्यालय गोरखा र कन्काई गोरखा एप्रोपियट जेभीसँग ५ करोड ११ लाखको लागतमा सम्पन्न हुन लागेको हो । 

त्यस ठाउँमा पक्की पुलको निर्माणले बर्खामा पनि सजिलै आवतजावत गर्न सकिने भएको छ । उत्तरी भेगका आम नागरिकहरूलाई सहजै मोटर यात्रा गर्नका लागि निकै सहज हुने इन्जिनियर गोविन्द श्रेष्ठले बताउनुभयो । उक्त पुलबाट आरुघाटदेखि धार्चे हुँदै चुमनुब्री  साथै धादिङ जिल्लाका स्थानीयलाई समेत यात्रा गर्न सहज हुने गोरखा सडक योजना कार्यालय गोरखाले जनाएको छ ।  

त्यस ठाउँमा मोटरेबल पुल निर्माणले उत्तरी गोरखका नागरिकलाई सहजै रूपमा गोरखा सदरमुकाम देखि काठमाडौँसम्म मोटर बाटो यात्रा गर्न निकै सहजै हुने भएकाले मोटरबाटोबाट उत्तरी गोरखबाट बर्खाका बेला पनि सबारीसाधानहरु आबातजाबतमा सहज हुने अपेक्षा राखिएको छ ।