• १३ मंसिर २०८१, बिहिबार

'फजुल खर्चले देशको स्वाभिमान र अर्थतन्त्र सङ्कटमा छ'

blog

बोमलाल गिरी

नवलपुर, जेठ २७ गते । अर्थविद् एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलले फजुल खर्चका कारण नेपालको अर्थतन्त्र र स्वाभिमान खतरामा रहेको बताउनुभएको छ । 

प्युठान नवलपुर सम्पर्क समाज विकास समितिले डण्डामा गरेको कार्यक्रममा अर्थविद् पोख्रेलले फजुल खर्च घटाउने उपाय नखोज्ने हो भने देशको स्वाभिमान र अर्थतन्त्र दुवै धरापमा पर्ने चेतावनी दिनुभयो । उहाँले राज्यको फजुल खर्च घटाउने तर्फ ध्यान दिन पनि सरकारलाई आग्रह गर्नुभयो ।

"ऋण लिएर सेना, प्रहरी, शिक्षक, कर्मचारी र सामाजिक सुरक्षामा खर्च गर्दा विकास गर्न रकम अभाव हुने गरेको छ", डा पोख्रेलले भन्नुभयो, "अनि नेपालको कुल ग्राहस्थ उत्पादनको ४५ प्रतिशत त ऋण नै भएको छ । विकास गर्न ऋण लिनुपर्ने हुन्छ । ऋणै ऋणमा जाँदा हाम्रो हैसियत के हुन्छ ? यसले एकातिर हाम्रो स्वाभिमान दाउमा रहन्छ भने अर्कोतर्फ अर्थतन्त्र नै धरापमा पर्छ, त्यसैले फजुल खर्च घटाउने तर्फ ध्यान दिऊँ ।"

ऋण लिएर ऋण तिर्न नै विदेशीको भर पर्नु परेको उहाँको भनाइ छ । "सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको छ, राजश्वबाट ११ खर्ब २२ अर्ब उठ्ने अनुमान गरिएको छ, डा पोख्रेलले भन्नुभयो, "तर १० खर्बभन्दा बढी राजश्व उठ्दैन । यसको मतलब ८ खर्ब ६० अर्ब अपुग हुन्छ । त्यो कहाँबाट ल्याउने ? त्यसैले फजुल खर्चकै कारण ऋण लिएर ऋण तिर्नु पर्ने अवस्थामा पुगेका छौँ ।"

हरेक दुई तीन वर्षमा बन्ने वित्त आयोगहरूले तीन खर्बभन्दा बढी फजुल खर्च घटाउन सक्ने उपायसहितका प्रतिवेदन दिएपनि त्यतातिर सरकारले ध्यान नदिइएको उहाँको भनाइ छ। पृथ्वीनारायण शाहका पालादेखि नै फजुल खर्च बढ्दै गएको उहाँले बताउनुभयो । 

"वि.सं. १८२८ तिर पृथ्वी नारायण शाहको पालामा करिब ९ हजार सेना थिए । उनीहरूलाई पाल्न ९ लाख रुपियाँ आवश्यक पर्थ्यो । तर राज्यको आम्दानी ४ लाख ५० हजार मात्र थियो", उहाँले भन्नुभयो, "त्यसैले सेना प्रहरीलाई तलब खुवाउन किसानको खेतबारीबाट धान सङ्कलन गरेर दिइन्थ्यो । त्यतिबेलादेखि नै फजुल खर्च हुने क्रम बढ्दै गएको हो ।"

अहिलेको बजेटमा स्थानीय तर र प्रदेशका लागि ५ अर्ब ७२ अर्ब, विदेशी ऋण र साँवा तिर्न ३ खर्ब २० अर्ब, वृद्ध भत्ता र कर्मचारीको तलबका लागि २ खर्ब ५२ अर्ब गरी ११ खर्ब ७४ अर्ब हुने भए पनि हिजो साँझसम्मको राजश्व ८ खर्ब ७५ अर्ब रुपियाँ मात्र रहेको उहाँले बताउनुभयो । यसले गर्दा राज्यको आम्दानीले खर्च धान्न नसक्ने अवस्थामा पुगेको अर्थविद् पोख्रेलले दाबी गर्नुभयो ।