• १२ पुस २०८१, शुक्रबार

यार्सागुम्बाको वैज्ञानिक व्यवस्थापन

blog

नेपाल प्राकृतिक स्रोत, साधन र सुन्दरताले भरिपूर्ण छ । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदामध्ये वनमा पाइने अलौकिक तथा अद्वितीय जडीबुटी र गैरकाष्ठ वन पैदावरको महत्वपूर्ण स्थान रहेको छ । 

देशभित्र पाइने सूचीकृत करिब सात सय प्रजातिका जडीबुटीजन्य वनस्पतिमध्ये यार्सागुम्बा पनि एक हो । यार्सागुम्बालगायत अन्य महत्वपूर्ण जडीबुटीको बिक्री वितरणबाट दार्चुला, जुम्ला, गोरखा, लमजुङ तथा डोल्पालगायतका जिल्लामा करोडौँ रुपियाँ बर्सेनि भित्रिने गर्दछ । 

यार्सागुम्बा जाडोमा कीरा र गर्मीमा घाँस बन्ने एक अनौठो प्रजातिको वनस्पति–जीव हो । यो आधा वनस्पति र आधा कीराजस्तो हुन्छ । यार्सागुम्बालाई शक्तिवर्धक र दुर्लभ बहुमूल्य जडीबुटी मानिएको छ ।  यार्सागुम्बा हाम्रो देशको हिमाल र पहाडी जिल्लाका लेकाली खर्क, पाटन तथा माडीमा पाइन्छ । यो जडीबुटीलाई दुई सय वर्षअगाडि चीनको तियान भन्ने विद्वान्ले शक्तिवर्धक बहुमूल्य जडीबुटी भनेपछि यसको प्रयोग सुरु भएको भनाइ छ । यार्सागुम्बाको बजार, व्यापार र मूल्य आकासिँदो छ तथा अन्तर्राष्ट्रिय बजारमा यसको माग धेरै छ । नेपालको सन्दर्भमा विगतमा भन्दा हाल यार्सागुम्बा सङ्कलन बढेको छ । 

यस वर्ष पनि वैशाखदेखि साउनसम्म यार्सागुम्बा सङ्कलनका लागि मानिसहरू लेकको माडी÷पाटनतिर लागेका छन् । यार्सागुम्बा सङ्कलनको उचित समय वैशाखदेखि साउन महिनासम्म हो । यार्सागुम्बा सङ्कलनका क्रममा चिसो र धपेडी तथा लेक लागेर कतिपय सङ्कलनकर्ताले बिरामी भएर ज्यान गुमाउँछन् । मुख्यतः यार्सागु्म्बा गोरखा, लमजुङ, रसुवा, म्याग्दी, मुस्ताङ, दार्चुला, बझाङ, जुम्ला, मुगु, डोल्पा आदि हिमाली जिल्लामा पाइन्छ । 

स्थानीय बासिन्दाले यार्सागुम्बा सङ्कलन गर्दछन् । नेपालमा सबैभन्दा बढी यार्सा सङ्कलन गरिने जिल्ला बझाङमा जलवायु परिवर्तनका कारण यार्सा उत्पादन घट्ने गरेको छ । आयस्रोतको प्रमुख माध्यम  यार्साको उत्पादन घट्दा बझाङ जस्तै अन्य हिमाली जिल्लाको अर्थतन्त्रमा ठूलो असर परेको छ । स्मरण रहोस् बझाङमा मात्र विगतमा करिब एक अर्ब रुपियाँ बराबरको यार्सा कारोबार हुने गरेको थियो । 

नेपालको यो जडीबुटी ताइवान, हङकङ, सिङ्गापुर, तिब्बत आदि ठाउँमा निकासी हुन्छ । यो जडीबुटी प्रतिकेजी तीन लाख (गुणस्तर हेरी) देखि १२ लाख रुपियाँको दरमा बिक्री हुने गरेको छ । 

अवैज्ञानिक सङ्कलन र जलवायु परिवर्तनले गुणस्तरीय यार्सागुम्बा उत्पादनमा ह्रास आएको छ । अतः वैज्ञानिक तरिकाबाट अमृतसमान यार्सागुम्बा सङ्कलन गरिनुपर्ने देखिन्छ । बिनाव्यवस्थापन सङ्कलन मात्र गर्नाले यार्सागुम्बालगायतका कैयौँ अमूल्य जडीबुटी पैदावार मासिँदै र नासिँदै गएका छन् । 

अमूल्य जडीबुटीबारे नेपाली वा स्थानीय भाषामा लेखिएको जानकारीमूलक सामग्रीको उपलब्धताले जडीबुटी संरक्षणमा ठूलो टेवा पुग्न सक्ने देखिन्छ । 

लेखक : डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् । 

 

Author

डा. माधव अधिकारी