• १२ साउन २०८१, शनिबार

सिकारी सिपाही

blog

निक्लँदो असोजको शरदकालीन उघारो बेला । पहारिलो याम । पुग्नुपर्ने थियो ऐँसेलुखर्क माविमा निम्तालु बनेर । सिपाघाटसम्म त सार्वजनिक बसमै गएको । आफूले बाल्यकाल बिताएका इन्द्रावतीपारिका गाउँठाउँसँग प्रत्यक्ष चक्षुस्पर्श गर्दै उँभो जाने हिसाबले बाहुनीटारे मावली भाइसँग मोटरसाइकल मगाएको थिएँ । ठिक समयमा भाइ पनि पुलामुख आइपुगेछन् । बस छोडेर म पनि भाइकै सवारीसाधनको पछाडि सवार भएँ ।

आँपटारको सिरानदेखि औडेखौडे उकालोमा जबरजस्ती दुईपाङ्ग्रे गुडाउँदै गहतेको भिरमाथि पुग्यौँ । पहिले पटपटे सिरु मुसेखरी र धाइरो धुर्सुल जस्ता घाँसपात र बुट्यानले अड्याएको छाछट्टको त्यो भिर नयाँ मोटरबाटो खोल्दा डोजरले भत्काएर झनै भताभुङ्ग भएछ । डराई डराई त्यो भिर काटेर भन्ज्याङको चौबाटोमा पुगेपछि भाइले भटभटे बिसाए । ओर्लिएर खुट्टा तन्काउँदै गर्दा दृष्टिहरू उत्सुकतामा यताउता छरिन थाले । चौबाटा किनारको बेन्चमा थुपुक्क बसेँ । बाल्यकालमा आफूले देखेखेलेको अझ कैयौँ पटक हिँडेको त्यो ठाउँको भौगोलिक आकार नै फेरिएछ । वरपर देखिने बिस्मुरे, सुन्दरीपुर, गहते, आलम्पुरलगायत गाउँठाउँ बुच्चा धसिङ्गरे र उजाड देखिए । स्कुल र मोटरबाटा बनाउने निहुँमा गाउँ गाउँभित्र डोजरेदैत्य पसेर बरपिपलको वंशै विनाश गराएछ । पानीघाट चौतारा, लाँकुरी सिमल र वरपिपलका विशालकाय रुखहरू त देख्नै नहुने रहेछ त्यो दारे राक्षसलाई । हुन पनि गाउँ गाउँका सिरानपुछार कतै बरपिपलका रुख देखिएनन् । वटवृक्षविहीन बुच्चा गाउँको नग्नताले मन खिन्न, दिमाग रनभुल्ल बनायो । “भाइ कुन ठाउँ हो यो ?” वरपर हेर्दै सन्देहमा सोधेँे । उनले दोहो¥याएर भने, “दाइ ज्यामिरेमाने भनेको यही ठाउँ त हो नि ! आफ्नै गाउँठाउँ पनि बिर्सनु भो ?” उनका कुरा सुन्दा छक्क परेँ । उहिलेको त्यस्तो एकान्त गाउँ अहिले यस्तो बजार बसेको हलचलपूर्ण ठाउँ ? अतीतको पूर्वस्मृतिले दिमागलाई घ्याँकेर हाराबारा खेलायो । अनि त आफैँलाई रोक्न नसकेर सन्त्रस्त भावमा भनिहालेँ, “भाइ काला दौरासुरुवाल लगाएका, कम्मरमा खुकुरी र काँधमा बन्दुक भिरेका बडाहाकिमका सिपाही त अहिले आउँदैनन् नि यहाँ ?”

“मैले बुझिनँ नि दाइ ? गोस्वारा कहाँ छ हिजोआज ? अनि बडाहाकिम हुनु ? अनि त्यस्तो पोसाक लगाउने सिपाही पनि यहाँतिर कहीँ देखिँदैनन् । राजधानीमा पनि गुरुजुको पल्टन मात्र हो त्यस्ता पहिरनका मानिस देखिने,” उनले अलमल्ल पर्दै भने । मेरो आशय उनले यतिबेर बुझ्ने कुरा पनि थिएन । कहाँको राणाकालीन शासनको अवशेष बडाहाकिमले शासन चलाउने गोस्वारा, कहाँको काला दौरासुरुवालमाथि सेता पटुका कसेका पलान्चोके जुत्ता चुइँक्याउने उतिबेरका सिपाही । कहाँ शासनसत्ताले गाउँस्तरमै आसन जमाइसकेको अहिलेको व्यवस्था ? मेरो प्रश्नले भाइ अलमल्ल नपर्ने कुरै भएन । “हो भाइ तिमीले नबुझ्ने नै हो यो प्रसङ्ग ? तिमी नजन्मिँदै म यो बाटो हिँड्दा गोस्वाराका सिपाही सिकार खेल्न हिँडेका भेटिए । अनि हामी ससाना दुई भाइलाई झन्डै बिताएका,” मैले कुरो बुझाएँ । दाइ बेसुरे जस्तो कुरा गर्न थालेछन्, छँटाएका त होइनन् ? भाइ सायद मनमनै भन्दै थिए । गाँजा, धतुरो वा तीनपाने केही सेवन गरेका त छैनन् ? शङ्का लागेछ कि क्या हो, उनले मेरो अनुहार परिक्रमा गरेर निरीह बन्दै खुइøय सुस्केराको खलाँती फ्याँके । “हँ कुन ठाउँ हो बाबु यो ?” ज्यमिरमाने भन्छौ । त्यहाँ त भन्ज्याङनिर अल्को डाँडामाथि एउटा ठुलो र अरू सानातिना माने ठडिएका थिए । पल्लोपट्टि बाटाछेउमा ठुलो बरको बोट सहस्र हाँगाबिँगाले आकाश ढाकेर फैलिएको थियो । लगत्तै मुनि घिरौँला, करेला, स्कुस र फर्सीका झालले छोपेका घरकटेरा थिए । ड्वाँ ड्वाँ गरेर गाईभैँसी कराएको बाटैमा सुनिन्थ्यो । गोठका छाना, कुँडार, करेसा सबतिर ढाकेर लहलहाएका थिए तरकारी फलाउने लहरा । उताको पाखामा सल्लेको पातलो वन थियो । निकै तल मात्र राता घर देखिन्थे माटो पोतेका । वारिपारिका भिराला गाउँको संरक्षक बनेर उभिएको थियो त्यो वटवृक्ष । आज त सल्ले, बिस्मुरे, पाडामरुवा, कुन्चोकलगायत राता घर टल्किने गाउँ र बिसीका फाँट एउटै साबुत देखिएनन् । कतै कङ्व्रिmटका मुडुल्ला घर ठडिएका । कतै बेतर्तिब छाप्राझुप्रा । पुराना गलखेत कुलो सुकेर सुक्खा टार बनेका । रसिला भिराला खोल्सी धापहरू डोजररूपी दैत्याकार राक्षस पसेर क्षतविक्षत बनाइदिएछ । ठुला राजमार्ग बनाउने नाउँमा सिमसार वनबुट्यानले ढाकिएको अक्षत धर्तीलाई चिथोर्दै कोपर्दै भुत्ल्याउँदै खुइल्याएँदै चीर हरण गरेछन् । कुन्चोक, सल्ले, बिस्मुरे, पाडामरुवा, गिदाने, सेउलेसम्मको खेती र रस्तीबस्ती हेरिनसक्नु कुरूप भएछ । मन अत्यन्त अधीर र बेसुर भयो मेरो । 

“यो कुन ठाउँ हो भाइ ?” मैले  फेरि सोधेथेँ । “दाइ यो ज्यामिरे माने नै हो, पछि परिवर्तन भएको । दाइ यहाँ एकछिन आराम गरेर बस्नु । म अफिस पुगेर कर्मचारीलाई काम लगाएर आइहाल्छु । अनि नबुझेका कुरा बुझौँला । बुझेका कुरा पनि मेसो मिलाएर कण्ठ पार्दै सम्झनाका पत्रभित्र घुसारौँला ।” यति भन्दै भाइ गुडी पनि हाले । सायद अलि पर पर्ने वडा अफिस पुग्ने हडबडीमा थिए उनी । हाकिम, बडाहाकिम अनि त्यस दिन मूलढोकाको साँचो लिने पियन बहादुर पनि उनी आफैँ रहेछन् । तल टारदेखि नै कतै कच्ची कतै पक्की थियो बाटो । भटभटे यानमा डबल लोड लिएर हिँड्दा उनी थाकेका थिए । त्यसमाथि मेरा अप्रासङ्गिक कुराले थप चिन्ताको ज्वारभाटा पनि उनको अनुहारमा उर्लंदै गरेको प्रतीत भइरहेथ्यो । होटेल किराना पसलको बिचमा भए पनि भाइ अफिस गएपछि एक्लै छु जस्तो लाग्यो । पुरानो डरको चिसो नयाँ मनमा पनि पसे जस्तो लाग्यो । उतिबेरका सम्झनामा यतिबेर मन दौडिन थाल्यो ।  एउटा लोर्के ठिटो म बसेकै बेन्चको छेउमा काँधको झोला बिसाउँदै बस्यो । सल्लेतिरको उकालो बाटो आएछ क्या रे ऊ । पसिनाले तरबर्र थियो र सुस्केरा पनि काडेको थियो । आजकलका केटा घिउमह छोडेर दुरुमपानीमा लागेपछि केको हिँड्ने शक्ति हुन्थ्यो अनि ? उसको अनुहारतिर हेर्दै मनमनै सोच्दै थिएँ म । कि मास्टर कि वन कि गाउँपालिकाको कर्मचारी हुनु पर्छ भन्ने अन्दाज गर्न मलाई उसको नीलो सरकारी पोसाकले सघाइरहेको थियो ।

फेरि आफ्नो मन पुरानै कुराको सम्झनामा दौडियो । त्यस्तै आठ÷दस वर्ष उमेरका थियौँ होला हामी दुइ भाइ, नेउपाने गाउँका शिवहरि दाइ र म । कुप्रामावली भट्टराई पण्डितको घरमा भदौ महिनामा पर्ने सोह्रश्राद्धको श्राद्ध खान भनेर त्यही बाटो पोखरेबाट बडहरेतिर जाँदै थियौँ । मध्य वर्षा भएकाले सिस्नेखोलाले बगाउला भन्ने डरले बाआमाले अलि फेरो परे पनि माथि डाँडैडाँडा हुलाकी बाटो जानू भन्नुभएको थियो । बाआमाको सोही आज्ञा शिरोपर गर्दै हिड्यौँ हामी दुइ भाइ । खानपिन त घरमै पनि मिल्थ्यो तर टीका लगाएर दक्षिणाका रूपमा हातलागी हुने नगद हाम्रा लागि औधी मूल्यवान् मात्र हैन, अमूल्य नै हुन्थ्यो । बडरेका कुप्रामावली बाले हामीलाई प्वाल परेको चारपैसे ढ्याक दक्षिणा दिएर उदारता प्रदर्शित गर्थे । अन्त कतै एक पैसा त कतै दुईपैसे तामा ढ्याक दक्षिणा मिल्दा त्यहाँ चार पैसा मिल्नु भनेको औधी ठुलो घटना थियो । त्यसैले हामी केटाहरू झुत्तिन्थ्यौँ दक्षिणा थाप्ने कुरामा । त हामी त्यस्तै ७ बजेतिर दुधचिउरा पेटमा हालेर घरबाट हिँडेका थियौँ । माथि पोखरे बगैँचा पुग्दा पहेँलपुर पाकेका अम्बाका बोटले हामीलाई लोभ्याए । चढ्यौँ एक एक सजिला रुख छानेर, टिप्यौँ अम्बा दनादन तर राख्ने भाँडा नभएपछि धोतीको पोल्टोमा सकेजति बोकेर गहतेको भिरतिर लाग्यौँ । डराई डराई भित्ताका झारपात बुटाहरू समातेपछि बल्लतल्ल त्यो छङ्गाछुर बाँदरजुँगे भिर पार भएका थियौँ । भिरको पुछारको चउरमा पानीका दह थिए र वरपर थुप्रै गिद्ध सिनो लुछिरहेका देखिए । सायद त्यसै भिरहुँदो चर्न गएका गाइगोरु लडेर मरेका अनि सिनो बनेका हुन् । यस्तै गन्थन गर्दै दुवै भाइ बाँकी दम्स्याइलो बाटो तडातडी पार भएर ज्यमिरेमाने पुगेका अनि खुइøय गर्दै कृष काया वटवृक्षको फेदमा बिसाएका थियौँ । 

हामी पसिना पुछ्तै थरक मारेर बसिरहेका थियौँ । त्यतिबेरै काला दौरासुरुवालमाथि पटुका कसेका चुच्चे टोपी लगाउने दुई जना खाइलाग्दा ठिटा देखा परे । एउटाले मेरासामु आएर ठाड्ठाडै सोधिहाल्यो, “कहाँ हो तिमेरुको घर ?” “ऊ अलि तल खाँमो गाड्या ठाउँमा ।” हत्तपत्त मैले पनि जवाफ दिएँ ।  मैले ठाडै ओठे जवाफ फर्काउँदा ती दुवै ठिटालाई आफ्नो रवाफउपर कवाफको हड्डी अड्किन पुगेछ । रिसले आगो भए । के मुखमा आएछ मेरो । सन्दिग्ध मनले अलमल्ल परेँ । शिवहरि दाइ नौला मान्छेको अगाडि हत्तपत्त बोल्दैनथे । मलाई भने तत्काल जस्तै हैसियतको अपरिचित मान्छे भए पनि निर्धक्क जवाफ दिन मन लाग्थ्यो तर यतिबेर मेरो उत्ताउलो वचन आफैँलाई सन्निसर्पन पारेर छटपटी गराउने बाल्तोड बन्यो । “के भनिस् रे जिन्डा ? हामी बडाहाकिमका सिकारी सिपाही हौँ । हामीसँग निफुल्क्या कुरा गर्छस् । हान्दिऊँ गोली ?” एउटाले मलाई हप्काउँदै गर्दा अर्कोले काँधमा भिरेको लामघारे बन्दुक मतिर तेस्र्याई पो हाल्यो । त्यति लामो नाल गरेको बन्दुक कहिल्यै नदेखेका मान्छे, देख्तै सातो गइहाल्यो नि हामी दुवै भाइको । ऊसँग बन्दुक भएको कुरा पनि मलाई ख्याल रहेनछ । तिनीहरू बडाहाकिमले कालिज, मृग, लुइँचेको सिकार गर्न वनतिर पठाउने सिपाही भन्ने पनि हामीलाई के पत्तो ? निरीह गाउँले केटा न थियौँ हामी । उनीहरूको हर्कतले हामीभित्रको भएभरको बर्कत पनि सकिएछ कि, आफूतिर बन्दुक तेर्सिएको देख्तै दिसापिसाब थाम्नै गाह्रो परिहाल्यो । होसहवासविहीन हामी दुवै भाइ भाग्ने तर्तिव निकालेर जोखाना हेर्दै लुरुक्क बारीतिर नाम्सिँदै बुरुक्क हामफाल्नपट्टि  लाग्यौँ । “ए ए भागे, भागे । समात् समात् !” तिनीहरूले फेरि हर्काए हामीलाई । अनि त झन् सास फेर्नै गाह्रो होला जस्तो भइगयो नि ! मकैबारी नै बारी छाड्तोस कसेर डिल, कान्ला, पहिरा, भँड्खारा फड्किँदै; बोडी, मस्याङ आदि कोसेबालीका झाडी फाँड्दै; काँक्रा, फर्सी, चिचिन्डा, घिरौँलाका लहरा लफन्ड्याउँदै तलको लाँकुरीभन्ज्याङ पुगेर मूल बाटोमा निस्कियौँ अनि बल्ल लामो सास फेरेका थियौँ । लाँकुरीको शीतल फेदबाट थररर काम्दै फर्केर हेर्दा हाम्रापछाडि कोही देखिएन । हे भगवान्, कस्सो बाँच्यौँ हामी आज भन्दै फेदीको चौताराबाट पुनः बाटा लागेका थियौँ । अझै तिनीहरू पछि पछि आइरहेछन् कि भन्ने त्रासले बाटैभरि रन्थन्यायो । भाग्यौँ मूलबाटोमा पनि कुइँचमार ठोकेर तीनधारेतिर तर तिनीहरू पछि पछि आउँछन् कि भन्ने त्रास र आशङ्काले तीनधारेको हुलाकबजार नकाटेसम्म पिछा छोडेन । 

म एक्लै टोलाएर आफ्नै पूर्वस्मृतिमा रङमङिएको बेला पछाडिबाट चर्को आवाज आयो, “दाइ जाऊँ अब ढिला हुन्छ नत्र ।” सुनेर झसङ्ग भएँ । चौबाटाको बेन्चीमै बस्दाबस्दै कस्ता कस्ता तरङ्गमा कता कता हराएछु म । अनि केही नभनी मोटरसाइकलको पछाडि बसेँ । अबको मूलबाटो चिल्लो फराक अनि राजमार्ग साइजको भएकाले हुइँकियो हाम्रो मोटरसाइकल पनि ऐँसेलुखर्क ताकेर । डेढ घडीभित्रै विद्यालय पुग्दा अभिनन्दन कार्यक्रम भर्खर सुरु हुँदै रहेछ ।  

Author

नरेन्द्रराज पौडेल