• ११ पुस २०८१, बिहिबार

कालञ्जर हम्पाल क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गरिँदै

blog

कालञ्जर हम्पाल क्षेत्रमा निर्माणधीन पर्यटकीय पूर्वाधार । तस्बिर ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ २४ गते ।
पर्वतको जलजला गाउँपालिकाले धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कालञ्जर हम्पाल क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण थालेको छ । समुद्री सतहदेखि ३३ सय मिटरको उचाइमा रहेको कालञ्जर हम्पाल क्षेत्र धार्मिक एवम् प्राकृतिक रुपमा सुन्दर पर्यटकीय स्थल हो ।

म्याग्दीको बेनीसँग सिमाना जोडिएको जलजला गाउँपालिकाले कालञ्जर क्षेत्रमा रहेको हम्पाल लेक र जलजलालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पर्यटन पूर्वाधार निर्माण थालेको हो । जलजला गाउँपालिका ५ र ६ नम्बर वडामा पर्ने हम्पाल क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सङ्घीय, प्रदेश र गाउँपालिकाले संयुक्त रुपमा पूर्वाधार निर्माण थालेका छन् । पर्यटकका लागि आश्रयस्थल, भ्यूप्वाइन्ट, खानेपानीको व्यवस्था, शौचालय निर्माण र सडक स्तरोन्नति लगायतको पूर्वाधार निर्माणमा गाउँपालिका जुटेको छ ।

हम्पाल क्षेत्र धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण भएकाले पूर्वाधार निर्माण गरेर पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । जलजला क्षेत्रमा १२ सय वर्गमिटरको ताल लगायत धार्मिक संरचनाहरु निर्माण गर्ने योजना अनुसार सङ्घीय, प्रदेश र गाउँपालिकाको बजेटबाट पूर्वाधार निर्माण थालिएको पालिका अध्यक्ष आचार्यले बताउनुभयो ।


राष्ट्रियसभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा हम्पाल र जलजलालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न करिब एक अर्बको लागत अनुमान गरिएको डिपिआर तयार पारी पूर्वाधार निर्माण थालिएको अध्यक्ष आचार्यले बताउनुभयो । संघ र प्रदेश सरकारबाट आशा गरिएअनुसारको बजेट प्राप्त नहुँदा सोचेअनुसारको काम अगाडि बढाउन नसकिएको उहाँले बताउनुभयो ।

गत वर्ष गाउँपालिकाले हम्पाल लेकमा भ्यूप्वाइन्ट निर्माण, शौचालय, सन्त बस्ने कुटी निर्माण गरेको थियो भने आश्रयस्थलका लागि भवन निर्माण सुरु गरेको थियो । सङ्घ र प्रदेशबाट विनियोजन भएको २०/२० लाख रुपियाँबाट पूर्वाधार निर्माण भएको पालिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो । मोदी र जलजला गाउँपालिकाले संयुक्त रुपमा लगानी गरेर विद्युतीकरणको योजना अघि बढाइएको उहाँको भनाइ छ ।


चालु आर्थिक वर्षमा निर्माणाधीन भवन बनाउन गाउँपालिकालबाट १४ लाख रुपियाँ विनियोजन गरी काम भइरहेको पालिकाका योजना शाखाका प्रमुख गोविन्दबहादुर जिसीले जानकारी दिनुभयो ।

हम्पाल क्षेत्रको धेरै भू–भाग जलजला गाउँपालिकाको वडा नम्बर ५ लेकफाँट र वडा नम्बर ६ सालिजासम्म फैलिएको छ । जलजलाबाट हिमश्रृङ्खला, सर्योदय, सूर्यास्त र मनोरम पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ  । धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, पुथा, माछापुच्छ्रे मनास्लुलगायत १६ भन्दा बढी हिमालका साथै पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङसम्मको भूगोल अवलोकन गर्न सकिने सुन्दर पर्यटकीय स्थल हो ।

लालीगुराँसको जङ्गल रहेको जलजलामा ठुलो मैदान छ । सोही मैदान सम्याएर तलाउ बनाउने योजना गाउँपालिकाले बनाएको छ । पूर्वाधार विकास गर्नसके धार्मिक मात्रै नभएर प्राकृतिक र जैविक विविधतामा समेत पर्यटक आकर्षित गर्न सकिने सम्भावना रहेको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । 

विभिन्न पुराणमा वर्णन गरिए पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले पूर्वाधार निर्माण थालेको पालिकाका उपाध्यक्ष आचार्यले बताउनुभयो । उहाँका अनुसार मोदी गाउँपालिकाले पनि यहाँ पदमार्ग र पर्यटकीय पूर्वाधार निर्माण थालेको छ । यसको केही भाग म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ नम्बर वडा राम्चेसँग पनि जोडिएको छ ।

यो क्षेत्र प्राचीन धर्मग्रन्थहरूमा ‘मृग सरोवर’ र सीमसार क्षेत्रका रुपमा उल्लेख छ । हनुमानले यही क्षेत्रबाट जडीबुटी लगेर औषधोपचारमा प्रयोग गरेको मुक्तिनाथ पीठाधिश्वर स्वामी कमल नयनाचार्य बताउनुहुन्छ । कमलनयना आचार्यले कालञ्जर हम्पाल क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना अघि सार्नुभएको छ । कमलनयनाचार्यको अगुवाइमा तीनवर्ष अघि यहाँ महायज्ञ आयोजना गरिएको थियो ।

स्वामी कमल नयनाचार्यले केही समय कालञ्जर भूमिमै तपस्या गर्नुभएको थियो । हम्पाल क्षेत्रमा  नीरमसी, पाँचऔलो सतुवालगायत बहुमूल्य जडीबुटी प्रशस्त पाइने जलजला क्षेत्रको जङ्गलमा कालो वर्णको मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपन्क्षीको बसोबास रहेको भनाइ छ ।

गाउँपालिकाले तीनवर्ष अघि सालिजा हुँदै हम्पालसम्म सडक पुर्‍याएको थियो । सडक स्तरोन्नति गरेर पर्यटकलाई सहज रुपमा पुग्ने अवस्था भएमा यहाँ पर्यटक आगमनमा वृद्धि हुने आशा गरिएको जलजला गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बलबहादुर पुनले बताउनुभयो ।