• ११ असोज २०८१, शुक्रबार

पाँच सय महिलालाई स्वरोजगार बनाइने

blog

बुटवल समाचारदाता

बुटवल, जेठ २५ गते । बुटवल उपमहानगरपालिकाले पाँच सय महिलालाई स्वरोजगार बनाउन सिपमूलक कार्यक्रममार्फत आयआर्जनमा जोड्न सुरु गरेको छ । गृहिणी महिलालाई सिप र रोजगारीसँग जोड्दै आर्थिक रूपमा सबल बनाउन नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम सुरु भएको हो ।

महिलालाई आर्थिक रूपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम सुरु गरेको उपमहानगरले जनाएको छ । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले महिलालाई सिप र रोजगारसँग जोडेर सबल बनाउन यो कार्यक्रम सुरु गरिएको बताउनुभयो ।

‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’ को नारा लिएको उपमहानगरले घरमै बस्ने गृहिणी महिलालाई स्वरोजगार बनाउन यो कार्यक्रम अघि सारेको हो । नगरप्रमुख पाण्डेयले महिलालाई आयआर्जनसँग जोड्न सिप नै सबैभन्दा ठुलो माध्यम भएको बताउनुभयो । यो अभियान चलाएर बुटवललाई एउटा आर्थिक आयआर्जनको ऊर्जाशील क्षेत्रका रूपमा रूपान्तरण गर्न चाहेको उहाँले बताउनुभयो । 

उपप्रमुख सावित्रादेवी अर्यालले गृहिणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७९ अनुसार आयोजना गरिएको तालिममा सहभागी महिलाले उत्पादन गरेका सामग्री बिक्रीका लागि कोसेलीघर निर्माण गरी बजारीकरणको व्यवस्था गर्ने बताउनुभयो ।

बुटवल–६ का अध्यक्ष लोकनाथ न्यौपानेले यस किसिमको स्वरोजगार तालिमले स्थानीयस्तरका महिलामा उत्साह बढेको र यसले बुटवललाई सिप तथा उत्पादनका क्षेत्रमा अगाडि लैजाने बताउनुभयो ।

बुटवलमा ७० जना गृहिणी महिलाका लागि चुरा, पोते, टीका बनाउने ४५ दिने तालिम, एक सय जना महिलाका लागि १५ दिने गुन्द्रुक, मस्यौरा बनाउने तालिम, एक सय जना महिलाका लागि एकमहिने दुनाटपरी बनाउने तालिम, ६० जना महिलाका लागि विभिन्न जातजातिको वेशभूषा, पोसाक तयार गर्ने दुईमहिने तालिम योजना गरिएको छ । 

यस्तै ५० जना महिलाका लागि बटुवा धूपबत्ती बनाउने १५ दिने तालिम, २० जना महिलाका लागि आइसक्रिम बनाउने १५ दिने तालिम, १० जना महिलाका लागि थाकलबाट झोला, टोपी, चकटी, गमला बनाउने एकमहिने तालिम र एक सय जना महिलाका लागि झिनिया रोटी, सेलरोटी, बटुकरोटी, कोदोको रोटी, सुक्खा रोटी, तावा रोटी, फापरको रोटी र परौठा बनाउने १५ दिने तालिम गरी ५१० जना गृहिणी महिलाले तालिम पाउने छन् ।