• १२ साउन २०८१, शनिबार

पत्रकारिता बलियो हुँदा राष्ट्रियता बच्ने

blog

काठमाडौँ, जेठ २५ गते । पूर्वसभामुख दमननाथ ढुङ्गानाले राष्ट्र र राष्ट्रियता बलियो बनाउन पत्रकारिता बलियो हुनुपर्ने बताउनुभएको छ । पत्रकार किशोर नेपालको जन्मदिनको अवसर पारेर बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वसभामुख ढुङ्गानाले भन्नुभयो, “किशोर नेपाल साहित्यकार र पत्रकार मात्रै नभएर स्वतन्त्र सेनानी पनि हुनुहुन्छ । सञ्चार माध्यमलाई राजनीतिक विश्लेषण चाहिने भएकाले यसमा पञ्चायत कालदेखि नै किशोर नेपालले योगदान दिँदै आउनुभएको छ ।”

उहाँले राष्ट्रियताको महत्व बचाइराख्न र प्रजातन्त्रको संरक्षण गर्न विश्वेश्वरप्रसाद कोइरालाको लाइनमा कलम चल्नुपर्ने बताउनुभयो । पत्रकार राजेन्द्र ढकालले विगतमा भारतीय पत्रकारिताबाट प्रभावित नेपाली पत्रकारिता किशोर नेपाल जस्तै पत्रकारका कारण गर्व गर्नलायक बनेको बताउनुभयो । 

पत्रकार पी खरेलले किशोर नेपाल कुनै विवादमा नपरी निर्भीक पत्रकारितामा सक्रिय रहेकाले सरल र मिठो उदाहरणसहितको कला पस्किन सक्ने नेपाली पत्रकारिताको गहना भएको बताउनुभयो । जयप्रकाश गुप्ताले पत्रकार नेपालको जिन्दगीको भोगाइ र अनुभव सबैका लागि उपयोगी रहेको बताउनुभयो ।

पत्रकार हरिहर विरहीले किशोर नेपालले कलमको माध्यमबाट लोकतान्त्रिक शक्तिमा सहयोग पु¥याउनुभएको चर्चा गर्नुभयो । पत्रकार किशोर नेपालले राणाकालदेखि गणतन्त्रसम्म आइपुग्दा पूर्ण रूपमा जनताका समस्या उजागर हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यावरण, जलस्रोतमा धनी देशका जनता अहिले पनि रोजगारी खोज्न खाडी मुलुक जानुपर्ने बाध्यता छ । जनतालाई समुन्नत बनाउन, जनताको पक्षमा लेख्न पत्रकारले क्षमता देखाउनु पर्छ ।”

उहाँले पछिल्लो समय पत्रकार जनप्रतिनिधिका स्वकीय सचिव बन्ने परिपाटी देखिएकोमा चिन्ता व्यक्त गर्दै जनताका पक्षमा कलम चलाउनुपर्ने पत्रकार राजनीतिक व्यक्तिको आवाज बन्न नहुने विचार व्यक्त गर्नुभयो । उहाँले अक्षर विचारको क्रान्तिअगाडि बन्दुकको क्रान्ति सफल नहुने र जनतालाई सुविचारको उपहार दिन कलमको मसी सुक्न नहुने बताउनुभयो ।