• १३ असोज २०८१, आइतबार

रुकुमपश्चिममा ३२ करोड बेरुजु

blog

सबैभन्दा बढी बेरुजु देखिएको आठबिसकोट नगरपालिकाको कार्यालय । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुम पश्चिम, जेठ २४ गते । रुकुम पश्चिमका छ वटा स्थानीय तहको बेरुजु ३२ करोड ९८ हजार रुपियाँ देखिएको छ । महालेखा परीक्षकको कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन, २०८१ मा उक्त बेरुजु रकम सार्वजनिक भएको हो । 

आर्थिक वर्ष ०७९-०८० मा गरिएको लेखा परीक्षणको आधारमा उक्त बेरुजु रकम निकालिएको हो । प्रतिवेदन अनुसार सबैभन्दा कम बेरुजु सानीभेरी गाउँपालिकाको रहेको छ भने सबैभन्दा बढी आठबिसकाेट नगरपालिकाको देखिएको छ । 

सानीभेरी गाउँपालिकाको एक करोड ५२ लाख ४४ हजार रुपियाँ बेरुजु देखिएको छ भने त्रिवेणी गाउँपालिकाको तीन करोड २९ लाख तीन हजार देखिएको छ । त्यसै गरी मुसिकोट नगरपालिकाको तीन करोड ५७ लाख ३२ हजार र बाँफिकोट गाउँपालिकाको पाँच करोड १६ लाख ४६ हजार रुपियाँ बेरुजु छ । 

चौरजहारी नगरपालिकाको बेरुजु सात करोड ८० लाख ७६ हजार देखिएको छ भने आठबिसकोट नगरपालिकाको १० करोड ६४ लाख ९७ हजार रुपियाँ बेरुजु देखिएको छ । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थाबमोजिम प्रचलित कानुनबमोजिम पुर्‍याउनुपर्ने रीत पुर्‍याइन कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याएको कारोबारलाई महालेखा परीक्षक कार्यालयले बेरुजुका रूपमा परिभाषित गर्छ । 

बेरुजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की गरी तीन वर्गमा वर्गीकरण गरिन्छ । महालेखाले वर्गीकरण गर्दा असुल गर्नुपर्ने बेरुजुमा हिनामिना र फर्स्योट, हानि नोक्सानी र अन्य असुल गर्नुपर्ने बेरुजु समावेश गरेको छ । नियमित गर्नुपर्ने बेरुजुलाई अनियमित भएको, प्रमाण कागजात पेस नभएको, जिम्मेवारी नसारेको र शोधभर्ना नलिएको गरेर वर्गीकरण गरिएको छ ।