ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ २४ गते । पर्वतको जलजला गाउँपालिका–६, सालिजा गाउँका किसानले तरकारी खेतीबाट वार्षिक रूपमा पाँच करोड रुपियाँभन्दा बढी कमाउने गरेका छन् । म्याग्दीको बेनीसँग सिमाना जोडिएको सालिजा गाउँ तरकारी उत्पादनको पकेट क्षेत्र हो । तरकारी खेतीको आम्दानीले यहाँको जीवनस्तरमा निकै ठुलो परिवर्तन आएको छ । यहाँ उत्पादन भएको आलु, काउली, बन्दागोभीलगायतका ताजा तरकारी म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुस्मा, बागलुङ बजार र पोखरासम्म पुग्ने गर्दछ ।
उच्च भूभाग, चिसो हावापानी र खेतीयोग्य जमिन भएकाले यहाँ तरकारी खेती राम्रो फस्ट्याउने गरेको छ । सालिजामा बसोबास गर्ने करिब आठ सय घरधुरी व्यावसायिक तरकारी खेतीमा लागेका छन् । यहाँ तरकारी खेती गरेर हरेक घरपरिवारले वार्षिक रूपमा दुई लाखदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्ने जलजला गाउँपालिका–६, सालिजाका पूर्ववडाध्यक्ष होमबहादुर पुनले बताउनुभयो ।
उहाँका अनुसार सालिजाको मुख्य उत्पादन आलु हो । सालिजाको आलु भनेपछि बजारका उपभोक्ताले खोसाखोस नै गर्दछन् । खान स्वादिलो भएकाले यहाँको आलु बजारमा महँगो मूल्यमा बिक्री हुने गरेको छ । आलु बिक्री गरेर मात्र गाउँमा करिब एक करोड रुपियाँ भित्रिने गरेको किसान बताउँछन् । पुस, माघ महिनामा लगाएको आलु खेतीको फसलले अचेल गाउँभरि आलु नै आलु देखिने गरेको छ । अहिले किसानले आलु खन्न थालेका छन् ।
माथिल्लो सालिजा, तारे, पातलखर्क, ओख्रेनी र तल्लो सालिजाको भोटेडाँडा, दिप, स्वारा, गामलगायतका गाउँमा आलु र ताजा तरकारी उत्पादनका लागि उपयुक्त मानिन्छन् । राम्रो सिँचाइ र उत्पादित कृषि उपजको बजारीकरणमा सरकारी निकायले सहयोग गरे अझै ताजा तरकारी उत्पादनमा वृद्धि हुने पुनले बताउनुभयो ।
सालिजा गाउँमा २५ मुरीदेखि ५० मुरीसम्म आलु फलाउने किसान भएको कृषक वीरबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार सालिजामा दुई लाखदेखि छ लाख रुपियाँसम्मको आलु बिक्री गर्ने किसान छन् । १४ वर्षदेखि निरन्तर रूपमा आलु खेती गर्दै आउनुभएका पुनले उत्पादन भएको आलु बिक्रीका लागि कुनै समस्या नभएको बताउनुभयो । घरबाटै बिउ आलुलाई दुई सयदेखि २५० रुपियाँ पाथीसम्म बिक्री गर्न सकिने उहाँको भनाइ छ ।
यो वर्ष लामो खडेरी परेकाले आलु उत्पादनमा कमी आउन सक्ने उहाँले बताउनुभयो । जलजला गाउँपालिकाले आलुको बिउमा आत्मनिर्भर बनाउन बिउ उत्पादनलाई जोड दिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । गाउँपालिकाले व्यावसायिक किसानलाई प्रोत्साहन गर्न तालिम, उपकरण र बिउमा अनुदान जस्ता कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ छ ।