• ३२ जेठ २०८१, शुक्रबार

वातावरणप्रति चिन्ता

blog

पृथ्वी सम्पूर्ण प्राणी जगत्को साझा घर हो । अहिलेसम्मका वैज्ञानिक खोज र अनुसन्धानबाट जीव अनुकूलन अर्को ग्रह फेला परेको पनि छैन । पृथ्वीमा सृष्टिचक्रदेखि नै विद्यमान प्रकृतिप्रदत्त पारिस्थितिकीय प्रणालीद्वारा सबैको अस्तित्व कायम छ । यद्यपि मानवीय अहम्, विकासका नाममा हुने विनाश तथा प्राकृतिक स्रोतसाधनको अधिक दोहनका कारण उत्पन्न प्रतिकूल पर्यावरणीय परिस्थितिले सिङ्गो पृथ्वीलाई नै प्रदूषित बनाउँदै छ । जसरी साझा घर पृथ्वी हो, त्यसरी नै यसको स्वच्छता कायम राख्नु साझा कर्तव्य भएकोप्रति वातावरणविद्हरूले ध्यानाकर्षण गराउँदै आएका छन् । पर्यावरणीय सङ्कटकै सन्दर्भमा संयुक्त राष्ट्रसङ्घद्वारा जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा घोषणा गरेर जनचेतनामूलक कार्यक्रमसहित मनाउन सदस्य राष्ट्रहरूलाई आह्वान गरिएको छ । सोही अनुरूप यस पटक ‘हाम्रो भूमि : हाम्रो भविष्य’ मूल नाराका साथ बुधबार विश्वभर वातावरण दिवस मनाइयो । यस नाराले जमिनको पुनरुत्थान, मरुभूमीकरण र खडेरी थेग्न सक्ने क्षमताको विकास गर्न विश्व समुदाय एकजुट हुनुपर्ने आवश्यकताबोध गराएको छ ।

संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि यो दिवस मनाइँदै आएको स्मरणीय छ । वातावरण संरक्षणका लागि विश्वमा राजनीतिक तथा सामाजिक सचेतना वृद्धि गराउने उद्देश्यले सन् १९७२, जुन ५–१६ सम्म राष्ट्रसङ्घले स्विडेनको राजधानी स्टकहोममा वातावरणीय विश्व सम्मेलन आयोजना गरेको थियो । ‘मात्र एक पृथ्वी’ मूल नाराका साथ वातावरण संरक्षणप्रति विश्वको चासो वृद्धि गर्ने उद्देश्यले जुन ५ लाई वातावरण दिवसका रूपमा मनाउन यसै सम्मेलनले पारित गरेको विदित हुन्छ । यसपछि पनि वातावरण विनाशप्रति चिन्ता र चासो व्यक्त गर्दै विश्वमा ठुलठुला सम्मेलन भए । ठुला तथा औद्योगिक राष्ट्रबाट भइरहेको प्राकृतिक स्रोतसाधनको अधिक दोहनले कार्बन उत्सर्जनको नकारात्मक असर बढ्दो छ । विकसित देशका कारण भइरहेको वातावरण विनाशको असर अल्पविकसित तथा विकासशील राष्ट्रले भोग्न बाध्य हुनु परिरहेको अवस्थामा क्षतिभरणसम्बन्धी विषयमा केही समयअघि संयुक्त अरब इमिरेट्समा आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा गम्भीर बहस भएको स्मरणीय छ । नेपालका तर्फबाट जोडदार रूपमा उठाइएको क्षतिभरणको विषयले आगामी दिनमा मूर्तरूप लिने कार्यदिशा तय भइसकेको छ । यसो हुन सक्दा औद्योगिक एवं आणविक शक्तिराष्ट्रलाई वातावरणीय क्षयीकरणमा आफ्नोतर्फबाट भएको हानिनोक्सानी गल्तीबोध हुने विश्वास गर्न सकिन्छ ।

जलवायु परिवर्तनको असरले खास गरी वन तथा जैविक विविधता, जलस्रोत र ऊर्जा, कृषि तथा खाद्य सुरक्षा, मानव स्वास्थ्य र भौतिक पूर्वाधार जस्ता क्षेत्रमा गम्भीर प्रभाव पारेको छ । ध्रुवीय क्षेत्रका हिउँ पग्लने क्रममा वृद्धि हुँदा समुद्री सतह बढिरहेको छ । हिमाल नाङ्गिँदै गएका छन् । टापु तथा तटीय क्षेत्रमा बसोबास गर्ने मानिस, जलाशयमा बस्ने प्राणी यसको प्रभावमा परेका छन् । विभिन्न प्रजाति लोपोन्मुख अवस्थामा पुगेका छन् । पिउने पानीको अभाव बढ्दो छ । युनिसेफले हालै गरेको एक अध्ययन अनुसार विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित तथा व्यवस्थित पिउने पानीबाट वञ्चित छन् । जमिनको उत्पादकत्वमा ह्रास आएर खाद्य सङ्कट निम्तिने खतरा देखिएकाले बेलैमा सचेत नहुने हो भने भोलि आउने सङ्कट भयावह हुन सक्नेतर्फ वातावरणविद्हरूले दिएको चेतावनी मननीय छ । अर्कोतर्फ खाद्य तथा ध्वनि प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउनुका साथै विभिन्न खालका रोगव्याधिको सामना गर्नु परेको तितो यथार्थप्रति विश्व बेखबर छैन । जलवायु परिवर्तनबाट उत्पन्न समस्याको समाधान र सम्बोधन गर्न विश्व समुदायमा सहकार्यको आवश्यकताबोध हुनुपर्ने देखिन्छ ।

विश्व वातावरण दिवसका सन्दर्भमा नेपालमा पनि विविध कार्यक्रम आयोजना गरियो । राष्ट्रपतिद्वारा व्यक्त शुभकामना सन्देशमा विकास र वातावरण एकआपसमा प्रतिद्वन्द्वी नभई परिपूरक रहेको भन्दै जल, जमिन, जङ्गल तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाएर संविधानप्रदत्त स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन प्रण गर्ने दिनका रूपमा लिन आग्रह गरिएको छ । संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक स्थापित गरेको मात्र नभएर वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेसमेत उल्लेख छ । वातावरण संरक्षण तथा सुधारका लागि अवलम्बन गरिएका राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमले वातावरण संरक्षणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल हुँदै आएको अनुभूत हुन्छ । खास गरी पछिल्लो चरणमा वातावरण संरक्षणका क्षेत्रमा विश्व मञ्चहरूमा उठाइँदै आएको आवाजलाई निरन्तरता दिन आवश्यक देखिन्छ । नेपालका सन्दर्भमा यो नै वातावरण दिवसको सन्देश पनि हो ।