• १३ असोज २०८१, आइतबार

अस्थायी आवास निर्माणको दोस्रो किस्ता निकासा सुरु

blog

सानीभेरी गाउँपालिका –२ गिठाकोटमा निर्माण गरिएका अस्थायी आवास । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, जेठ २३ गते ।
रुकुमपश्चिममा भूकम्प प्रभावित घरपरिवारको अस्थायी आवास निर्माण वापतको दोस्रो किस्ताको रकम निकासा सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले मङ्गलबारबाट आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका लाभग्राहीहरुका लागि दोस्रो किस्ताको रकम पठाउन सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले दुई स्थानीय तहका आठ हजार ६५८ जना लाभग्राहीको लागि दोस्रो किस्ता वापतको २१ करोड ६४ लाख ५० हजार रुपियाँ सम्बन्धित पालिकाको खातामा पठाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आठबिसकोट नगरपालिकाका तीन हजार १३ जना र सानीभेरी गाउँपालिकाका पाँच हजार ६४५ जना लाभग्राहीका लागि दोस्रो किस्ताको रकम निकास पठाइएको हो । उक्त रकम भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन अनुसार स्थानीय तहले वितरण गर्ने बताइएको छ ।

प्राधिकरणले तयार गरेको विपद् पोर्टलमा समावेश भएका र पालिकाबाट माग भएका आधारमा दोस्रो किस्ताको रकम निकासा गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । भूकम्प प्रभावित घरपरिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार दिने व्यवस्था छ ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिममा ३२ हजार ९९६ जना लाभग्राही कायम भएका छन् भने ३१ हजार ८५ जनाको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा भइसकेको छ । प्रभावित केही घरपरिवारले भने पहिलो किस्ता वापतको रकम पाएका छैनन् । थप रकमका लागि जिल्ला प्रशासन कार्यालयले माग गरेको जनाएको छ ।