ललित बसेल
सुर्खेत, जेठ २३ गते । पश्चिम सुर्खेतको वराहताल गाउँपालिका–८, आलडाँडा गर्वना क्षेत्र सुक्खा ठाउँ मानिन्छ । ३२ घरधुरी रहेको ती दुई गाउँ डाँडाको टुप्पोमा अवस्थित छन् । अग्लो डाँडामा बस्ती हुनुको नाताले यी बस्तीमा खानेपानी र सिँचाइको निकै दुःख छ । २०२६ सालको बस्ती भए पनि हालसम्म कुनै पनि सरकारको आँखामा यहाँको पानीको समस्या पर्न सकेन र समाधानको उपाय देखिएको छैन । रोजगारीका लागि यहाँका पुरुष सदरमुकाम वीरेन्द्रनगर तथा भारततिर जानुपर्ने बाध्यता छ । घरबारीमा फलाउन सकिने लसुन, प्याज जस्ता तरकारी पनि किनेर खानुपर्ने अवस्था छ ।
तर पछिल्ला दिनमा यहाँको बासिन्दालाई थोरै राहत महसुस हुन थालेको छ । गाउँमा दुई वटा साना साना पानीपोखरी निर्माण गरिएका छन् । करिब एक किमी टाढाबाट भिरालो मूलको पानी पाइपका माध्यमबाट पोखरीमा हालिएको छ । आलडाँडामा एक लाख ९६ हजार लिटरको एउटा र गर्वनामा ५६ हजार लिटरको अर्को पानीपोखरी निर्माण गरिएपछि त्यहाँको भिरालो जग्गा अहिले अलि अलि हराभरा हुन थालेको छ । घरमा खानका लागि तरकारी खेती गर्न अहिले आकाशको पानीको भर पर्नु पर्दैन । गत माघमा निर्माण भएको पोखरीको पानीले यहाँका बासिन्दाले चौमासे, सिमीलगायतका तरकारी खेतीसँगै अहिले मकै खेती गर्न सुरु गरेका छन् ।
स्थानीय किसान दानबहादुर रामजालीका भनाइमा पानीपोखरी बनेपछि अब वर्षभरि तरकारी खेती गर्न सकिने भएको छ । उहाँले भन्नुभयो, “डाँडामा पानीपोखरी बनाउँदा भिरालो सुक्खा जमिनमा अहिले मकै, तरकारीले हरियो बनेको छ ।” पानी पोखरी कृषि क्षेत्र विकास कार्यक्रमको सहलगानीमा निर्माण गरिएको हो । २४ जना किसान मिलेर हरियाली बहुउद्देश्यीय कृषक समूह गठन गरिएको छ । १६ लाख ३८ हजारको कुल लगानीमा बनेको सो पोखरी कार्यक्रम र समूहबाट आधा लगानी गरिएको अध्यक्षसमेत रहनुभएका रामजालीले बताउनुभयो । पोखरीले २५० रोपनी जग्गा सिँचाइ पुग्ने अपेक्षा राखिएको छ । भैँसी आहाल बस्ने पोखरीलाई सुधार गरेर पानीपोखरी बनाइएको र त्यहाँ पानी जम्मा गरेर खडेरीमा खेती गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।
स्थानीय कमला मल्लले सुरुमा लसुन, प्याजसमेत किनेर खानुपर्ने अवस्था रहेकोमा अहिले भने गाउँबाट तरकारी बेच्न लागिएको दाबी गर्नुभयो । पोखरीको पानीले सिँचाइ सुविधा भएपछि ६० हजार रुपियाँको चौमासे सिमी बिक्री गरिएको उहाँले बताउनुभयो । अधिकांश जनजाति र दलित समुदायको बसोबास रहेको सो स्थानमा राम्रो सडक नहुँदा बाह्रै महिना गाडी सञ्चालन हुन अझै पनि सकेको छैन । कर्णाली राजमार्गसम्म गाउँको कृषि सडक जोडिए आफूले बाह्रै महिना तरकारी खेती गर्ने योजना बनाएको मल्लले बताउनुभयो । पोखरी निर्माणमा सहयोग गर्ने कृषि क्षेत्र विकास समितिको समन्वय कार्यालय सुर्खेतका प्रमुख वासुदेव काफ्लेले टाकुरामा पोखरी निर्माण गरेर सिँचाइको सुविधा पुगेपछि यहाँका किसानको अवस्था बदलिन सुरु भएको बताउनुभयो । सिँचाइको सुविधा भएपछि अब तरकारी उत्पादनमा केन्द्रित हुन किसानलाई सुझाव दिँदै उहाँले त्यसपछि तरकारीको बजारीकरण गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।
कार्यक्रमले कर्णालीका ५९ वटा स्थानीय तहमा एक हजार बढी कृषक समूह गठन गरेको छ । समूहमार्फत तरकारी मूल्य शृङ्खला, दुध मूल्य शृङ्खला र बाख्रा मूल्य शृङ्खलामा काम गरिरहेको उहाँले जनाउनुभयो । सडकसँग जोडिएका किसानलाई तरकारी कृषि उपज र यसको प्रवर्धन गर्न, बजारीकरण गर्न र कृषकको जीविकोपार्जन गर्न यस्ता कार्यक्रम सञ्चालन गरिरहेको र कृषकमाथि गरिएको लगानीले उपलब्धि दिन थालेको प्रमुख काफ्लेले बताउनुभयो ।