• १३ असोज २०८१, आइतबार

हरेक वर्ष यार्चागुम्बाले लिन्छ ज्यान

blog

हरिकृष्ण ऐडी

मुगु, जेठ २३ गते । कर्णाली प्रदेशका बासिन्दाको जीवनस्तर उकास्ने स्रोतका रूपमा यार्चागुम्बालाई लिइने गरेको छ । यसलाई कतिपयले कर्णाली प्रदेशको ‘हिरा’ पनि भन्ने गरेका छन् तर यही हिरा खोज्ने क्रममा हरेक वर्ष ज्यान गुमाउने तथ्याङ्क पनि बढ्दै गइरहेको छ । यार्चागुम्बा टिप्ने क्रममा ज्यान गुमाउनुपर्ने अवस्था आउँदा यहाँका गाउँबस्तीलाई ज्यादै पीडादायी हुने गरेको छ । 

जिल्लाको उत्तरी भेगमा पर्ने मुगमकार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा बहुमूल्य जडीबुटी यार्चागुम्बा सङ्कलन गर्ने क्रममा हरेक वर्ष चार/पाँच जना सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । अधिकांश सर्वसाधारण हिउँ पहिरोमा र लेक लागेर ज्यान गुमाउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले भन्नुभयो, “हरेक वर्ष यार्चागुम्बा टिप्ने अवधिमा चार/पाँच जनाको मृत्यु हुने गरेको छ ।” 

गत वर्ष यार्चा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको हिमालबाट लडेर मृत्यु भएको थियो । त्यसै गरी यो वर्षको जेठ महिनाको दोस्रो हप्तामा छायानाथ रारा नगरपालिका–१२, शोभागाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाका कम्फा गाउँका सुमन बुढा, राजन सावत, देवराज बुढा तथा २७ वर्षीय पातारासी गाउँपालिका–३ का सुर्ज सावतको लेक लागेर मृत्यु भएको प्रहरी प्रमुख थापाले बताउनुभयो । यस्तै मुगमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार यार्चागुम्बा सङ्कलकका लागि दुर्घटना बिमा गर्न हरेक व्यक्ति विशेषको गर्नुपर्ने भएकाले पाटन प्रवेश गर्ने हजारौँ व्यक्तिको बिमा गर्न नमिल्दा झन् समस्या देखिन थालेको छ । 

वन प्रवेश क्षेत्रको रसिद लिएर यार्चागुम्बा सङ्कलन गर्न जाने सर्वसाधारणलाई दैवीप्रकोपमा दुर्घटना हुँदा घाइते भएकालाई उपचार खर्चमा पालिकाले सहयोग गर्ने गरेको छ । त्यस्तै दुर्घटनामा परी मृत्यु हुने मृतकका परिवारलाई एक लाख ५० हजार रुपियाँसम्म सहयोग गर्ने पालिकाका अध्यक्ष लामाले बताउनुभयो । छायानाथ रारा नगरपालिका–१२ का समाजसेवी जगत रोकायाले घरखर्चको जोहो गर्ने सपना देखेर पाटनमा यार्चागुम्बा सङ्कलनका लागि जिल्लाका धेरै सर्वसाधारण जाने गरेको बताउनुहुन्छ तर पाटनमा लेक लागेर कोही बिरामी भएर खाली हात घर फर्किने गरेका छन् । कोही भने उपचारका लागि ल्याउँदा ल्याउँदै बाटोमा मृत्यु हुने गरेको छ ।