• १२ साउन २०८१, शनिबार

सुनकोशीको डुङ्गामा सिक्का

blog

शिवा तामाङ

काठमाडौँ, जेठ २३ गते । दोलालघाटमा पुल बनेपछि सुनकोशी वारपार गर्ने परम्परागत डुङ्गा किनारमा त्यसै फालियो । जुन डुङ्गाले हजारौँ मान्छेका सपना सुनकोशीमा तारेको थियो । 

कलाकार रवीन्द्र श्रेष्ठले फालिएको डुङ्गा देखेपछि ट्रकमा राखेर काठमाडौँ ल्याउनुभयो । दोलालघाटदेखि राजधानीसम्म डुङ्गा ल्याउँदाको सङ्घर्ष कथा लामै छ । वस्तुको महत्व र तत्कालीन समयको झझल्को दिने गरी डुङ्गामा ८० किलो सिक्का राखिएको छ । कलाकार श्रेष्ठले भन्नुभयो, “नदी तर्न परम्परागत साधन डुङ्गालाई हाल मानिसले बिर्संदै गएका छन् । पछिल्लो पुस्ताले परम्परागत वस्तुको संरक्षण, संवर्धन गर्नु पर्छ भन्ने सन्देश दिन डुङ्गा र पुराना सिक्काको प्रदर्शनी गरेको हुँ ।”

डुङ्गामा राखिएका सिक्कामध्ये कुनै त सय वर्ष पुराना सिक्कासमेत छन् । परम्परागत वस्तुको झल्को दिन डुङ्गा र सिक्का प्रतिस्थापन कलाका रूपमा प्रस्तुत गरिएको कलाकार श्रेष्ठले बताउनुभयो । बागमती प्रदेशस्तरीय ललितकला प्रदर्शनीमा समेत राखिएको सो डुङ्गाले प्रादेशिक ललितकला पुरस्कार जितेको थियो । राष्ट्रिय ललितकला प्रदर्शनीमा समेत सिक्का सङ्गृहीत डुङ्गा राखिएको छ । प्रदर्शनी हेर्न आउने दर्शक अहिले त्यही डुङ्गामा पुराना सिक्का खोज्न र हेर्नमै रमाउन थालेका छन् ।

जेठ १५ देखि सुरु भएको सो प्रदर्शनी अवलोकनका लागि आउने हरेक आगन्तुकले टक्क अडेर रुचिपूर्वक श्रेष्ठको प्रतिस्थापन कला हेर्छन् । कलाको सुरक्षाको दृष्टिले अन्य कलाकृतिलाई हातले छुन पाइँदैन वा हुन्न तर रवीन्द्र श्रेष्ठको डुङ्गाको सिक्कालाई भने छुने, चलाउने गर्दै उत्सुकता देखाउँछन् । प्रतिष्ठान परिसरमा कलाकार चन्द्रश्याम डङ्गोलले बनाएको कलात्मक पशुपतिनाथको मन्दिर दर्शन गर्न पाइन्छ । यसले उपत्यकाको गौरवमय मन्दिर निर्माण कलाको महत्व झल्काएको छ । कलाकार डङ्गोलको कला निकै आकर्षक र नेपाली परम्परालाई दर्साउन सफल भएको छ । 

सोही कलात्मक बुट्टासहितको चिटिक्क मन्दिरसँगै कलाकार क्युरेटर प्रदीप शाक्यले इन्द्रेनीको सात रङ तथा सातै प्रदेशको प्रतिनिधित्व गर्ने धातुको पाताको कलाले पनि राष्ट्रिय ललितकला प्रदर्शनीको शोभा बढाएको छ । प्रदर्शनीमा कलाकार सुरेश लवट (तुलाधर) को सर्वोत्कृष्ट पुरस्कार जित्न सफल २१ ताराको काठको मूर्ति, कलाकार विश्वम्भर बस्नेतको तारजालीको प्रयोग गरी बनाइएका हातमा सारङ्गी बोकेको गन्दर्भ, कलाकार धर्म नेपालीको हनी हार्भेस्ट्रिक, सुभाषकुमार शाक्यको लोपोन्मुख जाति राउटेका गतिविधि, अमन कटवालको मरिकसी (रोटी राख्ने भाँडो), पाल्जाङ लामाको डोल्पाका सम्पदा राखिएका छन् । कलाकार राजेन्द्र देशारले ढुङ्गाका साना साना ढुङ्गा टाँसेर बनाउनुभएको ध्यानी बुद्ध, शिव छाङ्छा राईको मुन्धुम, महेश्वर डङ्गोलको ह्वाइटतारा, अमिताव, साइला लामा (मङ्गल) को अमिताव बुद्ध र बोधिसत्वलगायत अप्रतियोगीसहित देशभरका ४८२ जना कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा राखिएका छन् । 

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेले जेठ १५ देखि सुरु भएको प्रदर्शनीको अवलोकनका लागि विद्यार्थी, कलाकार, व्यवसायी, कला सङ्कलक कला समीक्षकलगायत कला अनुरागी आइरहनुभएको बताउनुभयो । प्रदर्शनी जेठ ३० सम्म चल्ने छ ।