• १३ असोज २०८१, आइतबार

हुम्लाका स्थानीय तहलाई एक अर्ब ७७ करोड

blog

राजन रावत
हुम्ला जेठ २२ गत ।
हुम्लाका सात वटा स्थानीय तहले आर्थिक वर्ष ०८१/०८२ मा एक अर्ब ७७ करोड २१ सङ्घीय सरकारबाट अनुदान पाउने भएका छन् । जिल्लाका सात वटा गाउँपालिकाले वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान शीर्षकमा सो अनुदान पाउने भएका हुन् ।

सङ्घ सरकारबाट यी चार वटै शीर्षकमा गाउँपालिकाले पाउने अनुदानमा सबैभन्दा बढी सर्केगार्ड गाउँपालिकाले ३२ करोड १२ लाख बजेट अनुदान पाउनेछ भने सबैभन्दा कम अदानचुली गाउँपालिका २० करोड ९१ लाख बजेट पाउनेछ । त्यसैगरी सिमकोट गाउँपालिका ३२ करोड नौ लाख, खार्पुनाथले २५ करोड ८० लाख, नाम्खा गाउँपालिकाले २२ करोड २३ लाख, चङ्खेली गाउँपालिकाले २२ करोड १८ लाख र ताँजाकोट गाउँपालिका २१ करोड ८८ लाख बजेट अनुदान पाउनेछन् ।

सात वटै गाउँपालिकाले पाएको अनुदान शीर्षक अनुसार समानीकरण अनुदानअन्तर्गत न्यूनतम अनुदानमा १९ करोड ७५ लाख, सूत्रमा आधारित अनुदानमा २९ करोड १० लाख, कार्य सम्पादनमा आधारित अनुदानमा तीन करोड ३९ लाख गरी ५२ करोड २४ लाख छ ।

त्यसैगरी, सशर्त अनुदानमा चालुमा ९३ करोड ५३ लाख र पुँजीगतमा २४ करोड ६४ लाख गरी एक अर्ब १८ करोड १७ लाख बजेट अनुदान पाउनेछन् । त्यस्तै, विशेष अनुदानतर्फ चालुमा ५० लाख र पुँजीगतमा पाँच करोड ३० लाख गरी कुल पाँच करोड ८० लाख प्राप्त गर्नेछन् । यता समपूरक अनुदानका पुँजीगतमा एक करोड अनुदान पाउनेछन् ।

सबै शीर्षकबाट पाउने अनुदानमा चालुतर्फ एक अर्ब ४६ करोड २७ लाख र पुँजीगतमा ३० करोड ९४ लाख बजेट छ । सो कुरा अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तीय हस्तान्तरणमा राखेको छ । यति बेला जिल्लाका गाउँपालिकाहरु आन्तरिक आम्दानी, ऋण सहयोग लगाएतका स्रोतलाई समेटेर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा लागेका छन् ।