• १६ असार २०८१, आइतबार

दोषीलाई कारबाहीको माग गर्दै प्रशासन कार्यालय घेराउ

blog

दोषीलाई कारबाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय नाराबाजी गर्दै स्थानीय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ २२ गते । तनहुँको व्यास नगरपालिकामा कार्यरत २९ वर्षीय इन्जिनियर प्रवीण कैनीको दुर्घटनामा मृत्यु नभई हत्या गरिएको भन्दै व्यास नगरपालिकाका कर्मचारी र स्थानीयले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् । दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग राख्दै मङ्गलबार बिहान १० बजे देखि नै प्रशासन कार्यालय घेराउ गरेका हुन् । 

दोषीलाई र घटनाको ढाकछोप गर्न प्रमाण लुकाउन घटनास्थलमा माटो थुपार्न लगाउनेलाई कारबाही र क्षतिपूर्तिको सुनिश्चित भएसम्म आन्दोलन गरिने व्यासन नगरपालिका–११ पोल्याङका आशिष् कैनीले बताउनुभयो । घटनाको छानबिन र अनुसन्धान गरी छानबिनको नतिजा अनुसार प्रचलित कानुन बमोजिम दोषीलाई हदै सम्मको सजाय र मृतकका आफन्तहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्ने सहमति भएपछि अवरुद्ध राजमार्ग सुचारु गरिएको भएपनि माग पुरा नभएको आन्दोलन गर्नु परेको कैनीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले प्रचलित कानुन बमोजिम दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि सोमबार रातीबाट अवरोध हटेको थियो । व्यास नगरपालिका–१२ कमलबारी निवासी इन्जिनियर कैनीलाई चालकले पछाडिबाट मारेको भन्दै स्थानीय बासिन्दाले यातायात अवरोध गरेका थिए । 

डुम्रेबाट दमौली जाँदै गरेको बा प्र ०१ –००१ नम्बरको पानी ट्याङ्करले सोही दिशातर्फ आउँदै गरेको ग १९ प ८३०३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो दुई बजे ठक्कर दिँदा कैनीको मृत्यु भएको थियो । ठक्करबाट कैनीको टाउकोमा गम्भीर चोट लागी घाइते भएको र उपचारको लागी जिल्ला अस्पताल दमौली लगिएकोमा उपचारको क्रममा निजलाई डाक्टरद्वारा मृत घोषित गरिएको प्रहरीले जनाएको छ । 

दोषीलाई कारबाहीको माग राख्दै स्थानीय पृथ्वीराजमार्ग अवरोध थिए । जिल्ला प्रशासन कार्यालयले राजमार्ग अवरोध नगर्न आग्रह गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले घटनामा संलग्न ट्याङ्कर र ट्याङ्कर चालक समेतलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडी बढाएकोले आन्दोलन नगर्न आग्रह गरिएको बताउनुभयो । दुईपक्षलाई वार्तामा राखेर समाधानको प्रयास भइरहेको भण्डारीले बताउनुभयो ।