• १३ मंसिर २०८१, बिहिबार

बागलुङको यातायात कार्यालयमा अनलाइन सेवा

blog

कार्यालयमा पुराना फाइल ढड्डाहरूलाई विद्युतीय अभिलेखका लागि काम गर्दै कर्मचारीहरू । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

बागलुङ जेठ २२ गते । बागलुङको यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु भएपछि सेवाग्राहीलाई सहज भएको छ । कार्यालयको सेवालाई प्रविधिमैत्री बनाउँदै सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न कार्यालयले अनलाइन सेवा सुरु गरेको हो । 

अनलाइन सेवा सुरु भएपछि सवारीसाधन दर्ता प्रमाणपत्र, (ब्लूबुक) नवीकरणका लागि घण्टौँ सम्म लाम बस्नुपर्ने बाध्यता हटेको छ । साथै कार्यालयले पुराना फाइल र ढड्डालाई सफ्टवेयरमा प्रविष्ट गर्ने काम थालेको छ । दर्ता र नामसरीको काम गत फागुनदेखि अनलाइनमार्फत गरेको छ । अनलाइन सेवा सुरु भएपछि दर्ता, नवीकरणको काम पहिलेभन्दा छिटोछरितो भएको छ । राजश्व तिर्ने समय पनि एक घण्टा थप गरेर सेवा प्रवाहलाई सहज बनाएको छ । अनलाइन सेवा सुरु भएपछि सेवाग्राहीलाई  मोटरसाइकल नामसरी र नवीकरणको काममा सहज भएको छ । 

कार्यालयमा रहेका सवारीसाधनका सबै ढड्डा र फाइललाई विद्युतीय अभिलेखीकरण गर्न सुरु गरिएको कार्यालय प्रमुख गुमादेवी शर्माले बताउनुभयो । सवारीसाधन दर्ता र नवीकरणसम्बन्धी सेवालाई छिटो, झन्झटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन कार्यालयलाई फाइल तथा ढड्डामुक्त बनाउन थालिएको उहाँले बताउनुभयो । 

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलेबाट प्राप्त भएको दश लाख रुपियाँ बजेटबाट जनशक्ति व्यवस्थापन गरेर कार्यालले पुराना फाइलहरुलाई विद्युतीय अभिलेखमा लैजान थालेको उहाँको भनाई छ । एकवर्ष भित्रमा कार्यालयमा दर्ता भएका करिब २५ देखि ३० हजार सवारीसाधन दर्तालाई ढड्डामुक्त बनाइने कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "अहिले दैनिक रूपमा ६ जनाले फाइलहरू स्क्यान,अपलोड,डाटा इन्ट्री र रुजु गर्ने लगायतका कामहरू गरेका छन् । सबै फाइलहरूलाई विद्युतीय अभिलेखमा इन्ट्री गर्न एकवर्ष जति समय लाग्नेछ ।"

सबै फाइलहरू विद्युतीय अभिलेखीकरण भएपछि फाइल, ढड्डा हराउने, सेवाग्राहीलाई असहजता हुने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो । फाइलहरूलाई विद्युतीय अभिलेखीकरण गरेपछि दराजमा राखिएको फाइल खोजी रहनुपर्ने समस्या पनि अन्त्य हुने छ ।  

यसैगरी रुट इजाजत र जाँचपासबाहेकका सेवा अनलाइन प्रणालीबाट दिन थालिएको कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो । सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सबै सेवा अनलाइनबाट लिन सकिने उहाँको भनाइ छ । "लाइसेन्सको आवेदनका लागि कार्यालय धाउनु पर्दैन, अनलाइनबाटै दिन सकिन्छ, चालकले आफ्नो ‘लाइसेन्स’ आए-नआएको पनि वेबसाइटमा हेर्न मिल्छ," उहाँले भन्नुभयो । 

सेवाग्राहीको सहजताका लागि कार्यालय भित्र हेल्पडेक्स स्थापना गरिएको छ । बाहिरी बिचौलियाको कार्यालयभित्र पहुँच नहोस् भनेर कार्यालयमा पस्न कडाइ गरिएको उहाँको भनाई छ । अनलाइन सेवा सुरु भएलगत्तै कार्यालयमा बिचौलियाहरूको प्रभाव पनि हटेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, "कुनै पनि कामका लागि सेवाग्राहीलाई बिचौलियाको सहयोग आवश्यक नपर्ने गरी व्यवस्था मिलाएका छौँ ।" कार्यालयबाट प्रविधिमैत्री सेवाप्रवाह गर्न थालेपछि कार्यालयप्रति सर्वसाधरणहरुको नकारात्मक सोचमा पनि परिवर्तन आएको कार्यालयले जनाएको छ ।