• १३ असोज २०८१, आइतबार

पोषणयुक्त चामल बिक्री सुरु

blog

मुगु, समाचारदाता

मुगु, जेठ २२ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुले जिल्लामा पौष्टिक तत्व भएको चामल (फोर्टिफाइड राइस) बिक्री गरेको छ । कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा २० हजार १४५ क्विन्टल पोषणयुक्त चामल बिक्री गर्न थालेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले पौष्टिक चामल वैशाख महिनादेखि बिक्री गर्न थालेको हो । कम्पनीको मुगुका कार्यालय प्रमुख राजबहादुर राईले आठ वटा पौष्टिक तत्व मिलाएर राजापुर मिलबाट चामल उत्पादन भइरहेको बताउनुभयो । कर्णाली प्रदेशको कार्यालयबाट मुगुका लागि पौष्टिक चामल एक हजार १४५ क्विन्टल, विस्तृत कोटामध्येमा मुगुमा हालसम्म पौष्टिक मोटा १७० क्विन्टल, त्यसै गरी मसिनो पौष्टिक चामल ३७४ क्विन्टल जिल्लामा आइपुगेर बिक्री भइरहेको छ । जिल्लाका सेवाग्राहीले मसिनो चामलभन्दा दैनिक मोटा चामल दुई सय क्विन्टल बिक्री हुने गरेको उहाँले बताउनुभयो ।   

सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिकले पोषणयुक्त खानपिन नपाउने भएकाले सो पौष्टिक चामल लाभदायक हुने गरेको छायानाथ रारा नगरपालिका–७ की स्थानीय कल्लीकला रावलले बताउनुभयो । जिल्लाको खाद्य कार्यालयबाट चामल बजार दररेटभन्दा धैरे कममा पाउने भएकाले चामल लिनका लागि उपभोक्ताको भिडभाड हुने गरेको उहाँले जनाउनुभयो । 

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको निर्देशिका अनुसार साबिकको कर्णालीका पाँच जिल्लामा सुत्केरीलाई आमा र बच्चाको स्याहारसुसारका लागि २५ केजी पौष्टिक चामल अनुदानमा दिने व्यवस्था गरेको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका अनुसार दैनिक रूपमा खाइने चामलमा सामान्य विधिबाट भिटामिन तथा खनिज तत्व मिसाएर बनाइन्छ । हाल एक्स्टुजन विधिबाट चामलमा पौष्टिक तìव स्तरोन्नति भइरहेको छ । यस विधिमा भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाई एक्स्टुजन मेसिनबाट चामलको जस्तै आकार र रङ हुने गरी उत्पादन गरिन्छ । स्तरोन्नति गरिएको चामलमा आइरन, जिङ्क, भिटामिन ‘ए’, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन, पाइरिडक्सिन मिसाएर तयार गरिएको हो ।