गुणबहादुर रोका
सुलीकोट, जेठ २१ गते । राष्ट्रिय राजमार्ग सडक अन्तर्गत गोरखा सदरमुकामदेखि घ्याम्पेसाल हुँदै आरुघाटसम्म सडक खण्डमा खाल्टा खुल्टी भएको सडक मर्मत तथा कालो पत्रे गरिएको छ । राष्ट्रिय राजमार्गमा पर्ने ठोरीदेखि नारायणगण–मुग्लिङ आँबुखैरेनी-गोरखा-घ्याम्पेसाल-आरुघाट हुँदै तिब्बतको सिमानामा पर्ने रोईला भञ्ज्याङसम पुग्ने सडकको गोरखा आरुघाट सडक खण्ड मर्मत तथा कालोपत्रे भएको गोरखा सडक योजना कार्यालय गोरखाका इन्जिनियर गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्रिय राजमार्गमा पर्ने गोरखा सदरमुकामदेखि घ्याम्पेसाल सम्म सडकमा खाल्टा खुल्टी साथै सडक छेउछाउमा पिच बगाएकाले छेउछाउको १-१ मिटर मर्मत तथा स्तरोन्नति गरिएको हो । गोरखा सडक योजना कार्यालय गोरखाले एक करोड ६४ लाख ५० हजार रुपैयाँमा गोरखा कालिका कन्स्ट्रक्सन बालाजु काठमाडौँले ठेक्का सम्झौता गरी कालोपत्रे सडकको छेउछाउमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको गोरखा सडक योजनाका प्रमुख अमिन्द्र खड्काले बताउनुभयो ।
गोरखा सडक योजना कार्यालय गोरखा र गोरखा कालिका कन्स्ट्रक्सन बालाजु काठमाडौँबिच २०८० साल मङ्सिर २२ गते सम्झौता भई २०८१ साल मङ्सिर २५ गते सम्झौतामा भनिएता पनि निर्माण कम्पनीले तोकिएको समय सीमा भन्दा ६ महिना पहिला जेठ महिनामा नै काम सम्पन्न गरेको सडक योजना कार्यालय गोरखाले जनाएको छ । यस सडक खण्डको गोरखा नगरपालिकादेखि भीमसेन थापा गाउँपालिकाको घ्याम्पेसालसम्म सडक मर्मत भएको हो । निर्माण कम्पनी सँग ६ मिटरको कालोपत्रे सडकमा २ मिटर थपेर ८ मिटर सडक भएको हो ।
गोरखा सदरमुकामदेखि उत्तरी गोरखाको माछीखोलासम्म सडक क्षेत्रमा खाल्टा खुल्टी हुँदा आबतजाबतमा समस्या हुने गरेको थियो । साँघुरो सडकमा यातायातका साधनहरूलाई समस्या हुने गरेको गोरखा दरौदी यातायात कम्पनी प्रालिका अध्यक्ष नारायण खत्रीले बताउनुभयो । अहिले गोरखादेखि आरुघाटसम्म खाल्टा खुल्टी पुरिएको कारण सडक क्षेत्रमा धुलो र उड्न छोडेको साथै सवारीसाधन सञ्चालनमा सहज भएको उहाँको भनाइ छ ।