• १३ मंसिर २०८१, बिहिबार

जलजलाको माझफाँटमा सडक कालोपत्रेकाे तयारी

blog

माझफाँटको फट्के ढुङ्गामा निर्माण गरिएको सडक र गाउँ । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, जेठ २१ गते । पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सडक कालोपत्रे गर्ने तयारी गरिएको छ । म्याग्दीको बेनी नगरपालिका सँग नजिक रहेको मल्लाज माझफाँटको बस्तीमा सडक निर्माण गरी एकीकृत बस्ती विकास गर्ने योजना अनुसार सडक स्तरोन्नति सहित कालोपत्रे गर्न लागिएको हो । 

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयनका लागि ठेक्कामार्फत जलजलाको २,३ र ४ नम्बर वडाका वस्तीहरुसमेटेर ४ दशमलव ८ किलोमिटर दूरीको सडक स्तरोन्नति सहित कालोपत्रे योजना दुईवर्ष अघि सञ्चालन गरेको थियो  । 

कार्यालयले २०७९ असार १९ गते दुई वर्ष भित्रमा योजना सम्पन्न गर्न निर्माण कम्पनी गणेशकुण्ड आइएम निर्माण सेवा जेभीसँग ११ करोड १२ लाख ३१ हजार सातसय ४६ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । 

ठेक्का सम्झौता लगत्तै कार्यस्थलमा परिचालन भएको निर्माण व्यवसायीले वडा नम्बर २ को खाल्टीदेखि ४ नम्बर वडाको देवीथान सम्मको सडक फराकिलो पार्ने, नाली बनाउने, कल्भर्ट निर्माण लगायत सडक पूर्वाधारका कामहरू सम्पन्न गरी कालोपत्रेको तयारी गरेको सघन सहकारी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका इन्जिनियर शङ्करराज कोइरालाले जानकारी दिनुभयो । 

जेठको दोस्रो हप्तासम्म योजनाको भौतिक ७५ प्रतिशत र वित्तीय प्रगति ६४ प्रतिशत हासिल भएको उहाँले जानकारी दिनुभयो । निर्माण व्यवसायीले काम गरेपनि भुक्तानीका लागि बजेट अभाव भएको उहाँले बताउनुभयो । कार्यालयका तर्फबाट निर्माण व्यवसायीलाई करिब दुईकरोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको उहाँको भनाइ छ । काम गरेअनुसारको भुक्तानी गर्न सकेको भए  ठेक्का सम्झौता अवधिभित्र नै योजना सम्पन्न हुने थियो इन्जिनियर कोइरालाले भन्नुभयो, ‘‘ठेक्का सम्झौता लगत्तै निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भएर सडक निर्माणलाई तीव्रता दिएको थियो । काम गरेअनुसारको भुक्तानीमा समस्या नभएको भए तोकिएको समय आगामी असार भित्र नै योजना सम्पन्न हुने थियो । तर बजेट अभावका कारण केही समय योजना प्रभावित बन्यो । असोज सम्म म्याद थपेर योजना सम्पन्न गर्ने सोच बनाएका छौँ । बजेट अभाव भएपनि अहिले निर्माण व्यवसायीले सडक निर्माणलाई तीव्रता दिएका छन् ।’’ 

घना बस्ती रहेको मल्लाजको माझफाँटका तीनवटा वडालाई कालोपत्रे सडकले जोडिएसँगै यहाँको विकास र समृद्धिको ढोका खुल्ने अपेक्षा गरिएको वडा नम्बर ४ का वडाध्यक्ष भरतबहादुर क्षेत्रीले बताउनुभयो । माझफाँटको ठुलो बस्तीलाई समेटेर सडक कालोपत्रे भएपछि स्थानीयवासीहरुको जनजीवनमा सकारात्मक परिवर्तन आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । सडक निर्माण सँगै २,३ र ४ नम्बर वडाका स्थानीयहरू लाभान्वित हुनेछन् । 

सडक कालोपत्रे भएसँगै माझफाँटमा एकीकृत बस्ती विकासका लागि आवश्यक पर्ने अन्य पूर्वाधार निर्माणका लागि सम्बन्धित निकायमा योजना माग गरिने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, "एकीकृत बस्ती विकासका लागि आवश्यक पर्ने सडक पूर्वाधार निर्माण हुँदै छ । सडक बनेसँगै बस्ती विकास सहज हुने छ। अन्य आवश्यक पूर्वाधार  क्रमशः निर्माण हुँदै जाने आशा गरेका छौँ ।"