मकवानपुर समाचारदाता
हेटौँडा, जेठ २१ गते । सडक वारपार गर्दा नागरिकलाई सहजताका लागि बनाइएको जेब्राक्रससमेत छेकेर हेटौँडा उपमहानगरपालिकाले हेटौँडा–१० स्थित समिल रोडमा फलामको रेलिङ हालेर आवतजावतमा अवरोध सिर्जना गरेको छ । हेटौँडा उपमहानगरपालिका–१० को कार्यालयमार्फत स्थानीय बासिन्दा र यात्रुलाई आवागमनमा असहज हुने गरी जेब्राक्रससमेत छेकेर रेलिङ जडान गरिएको हो ।
उच्च अदालत पाटन हेटौँडा इजलासले हाललाई उक्त कार्य रोक्न आदेश दिए पनि आदेशविपरीत जेब्राक्रससमेत छेकेर रेलिङ जडान गरिएको छ ।
स्थानीय गोपाल श्रेष्ठलगायतले फलामे पोल र रेलिङ लगाउँदा स्थानीयलाई घरजग्गामा प्रवेश गर्न समेत असर पर्ने भएकोले रोकिपाऊँ भन्दै निवेदन दिनुभएको थियो । निवेदनमाथि सुनुवाइ गर्दै अदालतका न्यायाधीश मीना गौतम सेढाईंको एकल इजलासले गत शुक्रबार निवेदकहरूको घरजग्गामा प्रवेश गर्न असर पर्ने गरी फलामे पोल र फलामको रेलिङ लगाउने कार्य नगर्नु/नगराउनु भन्दै वडा कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
वडा कार्यालयले अदालतको आदेशको समेत अवज्ञा गर्दै शुक्रबार र शनिबार स्थानीय बासिन्दा र यात्रुलाई समेत आवागमन असर पुग्ने गरी फलामे पोल र रेलिङ जडान गरेको स्थानीयले बताएका छन् ।
स्थानीयले आइतबार पत्रकार सम्मेलन गरी जेब्राक्रससमेत छेकेर वडा कार्यालयले एकतर्फी रूपमा फलामे पोल र रेलिङ जडान गरेको भन्दै विरोध जनाएका छन् । उच्च अदालत पाटन हेटौँडा इजलासले वडा कार्यालयलाई १५ दिनभित्र उक्त घटनाबारे लिखित जवाफ पेस गर्न भनेको छ ।
साथै अदालतले निवेदनको विषयवस्तु र प्रकृति हेर्दा दुवै पक्षलाई राखी छलफल गरी निष्कर्षमा पुग्नुपर्ने देखिएको भन्दै यही जेठ २३ गते छलफलका लागि दुवै पक्षलाई उपस्थित गराउन आदेश दिएको छ ।
श्रेष्ठका तर्फबाट बहस गर्नुभएका अधिवक्ता अमृतकुमार लामाले अदालतले आन्तरिक आदेश जारी गर्दागर्दैको अवस्थामा पनि वडा कार्यालयले अदालतको आदेशको अवज्ञा गर्दै स्थानीय बासिन्दा र यात्रुलाई आवागमनमा असहज हुने गरी जेब्राक्रससमेत छेकेर फलामे पोल र फलामको रेलिङ जडान गर्ने कार्य गरेको बताउनुभयो । उहाँले निर्माणस्थलमा अदालतको आन्तरिक आदेशको लिखत टाँस गरेपछि वडा कार्यालयबाट थप फलामे पोल र फलामको रेलिङ जडान गर्ने कार्य भएको दाबी गर्नुभयो । वडा कार्यालयले साढे सात लाख रुपियाँको लागतमा फलामे पोल र फलामको रेलिङ जडान गर्ने कार्य भइरहेको जनाएको छ ।