• १३ असोज २०८१, आइतबार

रुकुममा विद्युत अवरुद्ध

blog

रुकुमपश्चिमको मुसिकोट नगरपालिका-५ स्थित विद्युत वितरण केन्द्रको कार्यालय । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, जेठ २० गते । रुकुमपश्चिममा हिजोदेखि बेलुकादेखि विद्युत सेवा अवरुद्ध भएको छ । शनिबार बेलुका आएको हावाहुरीको कारण सल्यानको श्रीनगरदेखि रुकुमपश्चिमको मुसिकोटसम्मको विभिन्न स्थानमा विद्युत पोल र तारमा क्षति भएपछि आइतबार बेलुकासम्म पनि विद्युत लाइन आउन सकेको छैन । 

विद्युत प्राधिकरणको रुकुमपश्चिमस्थित वितरण केन्द्रले एक दर्जन स्थानमा पोल ढलेको, भाँचिएका रुखले विद्युत तार चुँडिएको जनाएको छ । केन्द्रका प्रमुख शिवजीप्रसाद साहले आइतबार बिहानैदेखि समस्या पत्ता लागेका ठाउँहरूमा मर्मतका लागि कर्मचारीहरू परिचालन भएको जानकारी दिनुभयो । उहाँका अनुसार ३० जना विद्युतका कर्मचारीहरू मर्मतको लागि फिल्डमा खटाइएको छ । तर मर्मत सकिएर विद्युत सेवा सुचारु हुनेबारे भने केही टुङ्गो छैन । अहिले श्रीनगरदेखि मुसिकोट नगरपालिका-३ धैरेनीचौरमा रहेको सबस्टेसनसम्मका विभिन्न स्थानमा मर्मतको काम भने चलिरहेको छ । 

सल्यानको श्रीनगरदेखि र जाजरकोटको कुदुदेखि आउने दुवै लाइनमा समस्या आएपछि रुकुमपश्चिम र रुकुमपूर्वमा विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत सेवासँगै इन्टरनेटको सेवा पनि समस्या आएको छ । जसको कारण सरकारी कार्यालयको कामकाजमा समेत प्रभाव परेको छ । विद्युत र इन्टरनेट सेवा अवरुद्ध हुँदा सर्वसाधारणका साथै व्यवसायीहरू समेत मारमा परेका छन् ।