• ११ असोज २०८१, शुक्रबार

अग्रज कलाकारलाई सम्मान

blog

तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, जेठ २० गते । पुतलीबजार नगरपालिका-१ स्याङ्जामा अग्रज कलाकार एवम् स्रष्टालाई सम्मान गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ स्याङ्जाले आठौँ वार्षिक साधारण सभा एवम् चौथो अधिवेशनका अवसरमा जिल्ला अग्रज कलाकार एवम् स्रष्टालाई सम्मान गरेको हो । 

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्याङ्जाका संस्थापक अध्यक्ष एवम् पत्रकार गोपाल जिटी, प्रतिष्ठानका पूर्व अध्यक्ष अर्जुन गैह्रै र लोक दोहोरी गायिका मिना अधिकारी सम्मान पत्रद्वारा सम्मानित हुनुभएको हो । २०४९ देखि २०५३ सालसम्म रेडियो नेपालका गायक एवम् पत्रकार जिटीका वालिङ बजार, सम्झना मनभरी, डाली बसी, सलल यो आँधीखोला, डोरी छिन्छकि, रूपकी रानीलगायत चर्चित गीत रहेका छन् भने जिटी प्रतिष्ठान स्याङ्जाको संस्थापक समेत रहनुभएको छ । 

पेसाले शिक्षक गैह्रै स्याङ्जाली नानी, जिउँदै मरियो, भैँसी पालेरलगायतका चर्चित गीतका गायक तथा प्रतिष्ठानका पूर्व अध्यक्ष रहनुभएको छ । यस्तै गोलभेँडाको चटनी, माइतीको आँगन लगायत दर्जनौँ चर्चित गीतमा आवाज दिनु भएकी अधिकारी लाइभ दोहोरीमा व्यस्त रहनुभएको छ । 

यस्तै, सङ्घको चौथो अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि बुद्धिबहादुर परियारको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरेको छ । सङ्घको उपाध्यक्षमा दूतप्रसाद नेपाली, सचिव राधिका दोरङ्गा, सहसचिव सीता भुजेल र कोषाध्यक्ष सुमित्रा दोरङ्ग रहनुभएको छ ।