अनिल पराजुली
हेटौँडा, जेठ २० गते । नेकपा (एमाले) मकवानपुरको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । श्रीधर पोखरेल, लालबहादुर थापा, देवराज रिमाल, इन्द्रमान स्याङ्तान र रघुनाथ खुलालले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
शनिबार साँझ एमाले जिल्ला निर्वाचन कमिटीले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार उपाध्यक्ष पदका लागि ध्रुवप्रसाद चौलागाईं, भरत दुलाल, हिदम लामा र सुनिल मोक्तानले उम्मेदवारी दिनुभएको छ ।
सचिवमा सुमित्रा काफ्ले, नरहरि महत, राजन थापा, मदनकुमार दहाल र सीता बिष्टले उम्मेदवारी दिनुभएको छ । त्यसैगरी उपसचिव खुल्ला पदमा इन्द्र नेपाल, कृष्णप्रसाद चौलागाईं, दीपक खड्का, फुर्वादोर्जे लामा, खेमराज जर्गा मगर र उपसचिव महिला पदमा कल्पना बलामी, जुना दहाल, आरती पाठक, पार्वती रानाले उम्मेदवारी दिनुभएको छ ।
जिल्लाका ११ हजार ६ सय ८४ जना पार्टी सदस्यबाट अधिवेशनका लागि प्रतिनिधि चयन गरिएको छ । कुल ७६९ जना अधिवेशन प्रतिनिधि रहनुभएको छ । जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय सङ्गठनबाट सहभागिता रहेको अधिवेशनले १०५ सदस्य जिल्ला कमिटी चयन गर्नेछ ।
शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशन अन्तर्गत शनिवार साँझ उम्मेदवारी दर्ता भएको थियो । आज आइतबार दिउँसोबाट मतदान हुने भएको छ । जेठ १८ गतेदेखि सुरु भएको एमाले मकवानपुरको जिल्ला अधिवेशनको उदघाटन एमालेका महासचिव शङ्कर पोखरेलले गर्नुभएको थियो ।