• ११ असोज २०८१, शुक्रबार

सालक संरक्षण गर्न साइकल यात्रा

blog

हेटौँडामा निकालिएको साइकल र्‍याली । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, जेठ २० गते ।
५२ औं विश्व वातावरण दिवस २०८१ को अवसरमा सालक संरक्षणका लागि मकवानपुरमा साइकल यात्रा गरिएको छ । ‘साइकल चढौं, स्वस्थ रहौं, वातावरण जोगाऔं, आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरौँ’ भन्ने नारासहित हिमालयन राइडर्स सोसाइटीले वातावरण सचेतना साइकल र्‍याली गरेको हो ।

डिभिजन वन कार्यालयको परिसरबाट सुरु भएको साइकल र्यालीमा मकवानपुर, बारा, चितवनका करिब दुईसय बढीको सहभागिता रहेको हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय हेटौँडाबाट सुरु भएको र्‍याली हेटौँडाको सामरी, मेनरोड, वनविज्ञान क्याम्पस, हुप्राचौर, कान्तिराजपथ, क्याम्पाडाँडा, गौरीटार रङ्गशाला, चौघडा, चुच्चेखोला, गैरीगाउँ हुँदै सालक पार्कमा पुगेर समापन भएको थियो ।

लोपोन्मुख सालक संरक्षण गरौं भन्ने उद्देश्यले गरिएको साइकल  र्‍यालीमा आठ वर्षीय बालकदेखि ७१ वर्षीय ज्येष्ठ नागरिकको सहभागिता थियो । करिब २७ किलोमिटर राइड गरिएको हो । जिल्लाको सबै क्षेत्रमा पाइने शान्त एवम् लजालु स्वभावको स्तनधारी जनावर सालक माटो खुकुलो बनाउने र किसानको अन्नबालीलाई हानी नगर्ने भएकाले सालक किसान मैत्री वन्यजन्तुका रुपमा परिचित छ । सालकले कमिला र धमिरा खाने खाने गर्दछ । संसारमै दुर्लभ मानिएका ८ प्रजातिका सालकमध्ये नेपालका वनक्षेत्रमा कालो सालक (चाइनिज प्यांगोलिन) र तामे सालक (इन्डियन प्यांगोलिन) पाइन्छ ।