• १२ पुस २०८१, शुक्रबार

सेतो सुनको व्यापार

blog

बाह्रै महिना अविरल बग्ने नदीनालाका कारण जलस्रोतका क्षेत्रमा विश्वमै धनीमध्येको मुलुक भनेर चिनिनुमा जति गौरवबोध हुन्थ्यो, उपयोगमा ल्याउन नसक्दा हुने गरेको पीडानुभूति अब भने बिस्तारै इतिहासमा सीमित हुँदै छ । मुलुकको अपार जल सम्पदाको उपयोग गर्न नसक्दा १६ घण्टाभन्दा बढी ‘लोडसेडिङ’ बेहोर्न बाध्य हुनु परेको तितो यथार्थ अन्त्य हुन धेरै समय कुर्नु परेन । छोटो समयमै चर्को लोडसेडिङको अन्त्य भएर खपत नभएको विद्युत् छिमेकी मुलुकको प्रतिस्पर्धी बजारमा बिक्री गर्न सफल हुनुले अबको केही वर्षभित्र विश्वमा विद्युत् निर्यातक प्रमुख राष्ट्रको रूपमा नेपाल चिनिन सक्ने देखिँदै छ ।

पहिलो पटक विसं २०७८ कात्तिक १७ गतेदेखि भारततर्फ निर्यात प्रारम्भ गरिएको ३९ मेगावाटको परिमाण वृद्धि भएर यो वर्ष करिब एक हजार दुई सय मेगावाट निर्यात गर्ने गरी नेपाल विद्युत् प्राधिकरणले केही दिनअघि भारतीय केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाएको जानकारी गराएको छ । यसभन्दा अघि आयात–निर्यात दुवै हुने गरेको थियो । सुक्खा मौसममा अपुग हुने विद्युत् भारतबाटै आयात गर्नुपर्ने बाध्यता थियो । यो वर्ष भने खुद निर्यातक मात्र बन्ने योजना प्राधिकरणका कार्यकारी निर्देशकले प्रस्तुत गर्नुभएको छ । यसले गर्दा ‘सेतो सुन’ को रूपमा चिनिने विद्युत् नै मुलुकको समृद्धिको आधार बन्नेतर्फको यात्रा प्रारम्भ हुँदै छ ।

नेपालमा उत्पादित विद्युत् निर्यातमा भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद बिक्री सम्झौता सरकारले गरिसकेको छ । यसै गरी प्रारम्भिक चरणमा ४० मेगावाट बङ्गलादेशलाई बिक्री गर्नसमेत विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय विद्युत् व्यापार कम्पनीबिच त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएर ढोकासमेत खोलिएको छ । उत्पादित विद्युत्को भरपर्दो वितरण तथा प्रसारणका लागि ठुला सबस्टेसनको निर्माण र प्रसारण लाइन विस्तारमा विद्युत् प्राधिकरणले पछिल्लो चरणमा उत्साहजनक प्रगति हासिल गरेको देखिएको छ । विद्युत् विकास तथा विस्तारकै लागि सरकारले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग सहकार्यका लागि गरेको ५० करोड डलरको सम्झौता पनि कार्यान्वयनमा आइसकेको छ । विद्युत् प्रसारण लाइन विस्तारमा खर्च गर्ने गरी प्राप्त परियोजनाका कारण ‘उज्यालो नेपाल’ अभियानले सार्थकता पाउने ऊर्जाविद्हरूको भनाइलाई सकारात्मक मान्न सकिन्छ ।

यस पटक नेपाल विद्युत् प्राधिकरणले भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत् बिक्री गर्ने भएको हो । जस अनुसार, प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गर्ने विद्युत्को परिमाणसहित बोलपत्रमा प्रतिस्पर्धा गर्ने छ । विद्युत् प्रणालीमार्फत तय हुने प्रतिस्पर्धात्मक बजार मूल्यका आधारमा विद्युत्को प्रतियुनिट बिक्री दर तय हुने छ । आगामी बर्खायाममा स्वदेशभित्र खपत भएर बाँकी रहने आकलन गरिएको एक हजार दुई सय मेगावाट विद्युत् बिक्रीका लागि हरियाणा राज्य सरकारलगायत विभिन्न खरिदकर्ता निकायसँग सम्झौता गरी अन्तिम स्वीकृतिका लागि केन्द्रीय विद्युत् मन्त्रालयमा प्रस्ताव पठाइएको र स्वीकृतिको चरणमा रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको हो । 

प्राधिकरणले यो वर्षको विद्युत् निर्यात जेठ १४ गते रातिदेखि सुरु गरिसकेको छ । पहिलो चरणमा दैनिक करिब चार सय मेगावाट निर्यात सुरु गरिसकेको छ । उत्पादन वृद्धिसँगै निर्यात बढाउँदै जाने प्राधिकरणले जनाएको छ । गत वर्षको साउनदेखि मध्य जेठसम्मको आकडा अनुसार देशभित्रको विद्युत् माग धान्नकै लागि १५ अर्ब २१ करोड रुपियाँ बराबरको विद्युत् भारतबाट आयात गरेको प्राधिकरणले गत साउनयता १३ अर्ब ४७ करोड रुपियाँको विद्युत् निर्यात गर्न सक्दा थोरै मात्र घाटा बेहोर्न परेको विदित हुन्छ । अब भने खुद निर्यातक बन्ने प्राधिकरणको योजनाले भारतसँगको खुद व्यापारघाटालाई समेत विद्युत् निर्यातमार्फत केही हदसम्म कम गर्न सकिने देखिएको छ । 

हालको विद्युत् जडित क्षमता करिब तीन हजार दुई सय मेगावाट पुगेको प्राधिकरणको आकडाले देखाएको छ । आन्तरिक खपत भने बढीमा बाइस सय मेगावाटसम्म मात्र हुँदा बचत हुने विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौता दुवै सर्तभित्र रहेर निर्यात गर्न प्राधिकरण लागिपरेको हो । भारतले प्रतिस्पर्धामार्फत खुला बजारमा ५४६ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति दिइसकेको छ । यसबाहेक मध्यकालीन बजारमा नियमित रूपले छ सय मेगावाट विद्युत् बिक्री गर्ने गरी द्विपक्षीय सम्झौतासमेत भइसकेकाले विद्युत्बाटै मुलुकको समृद्धि हुनेमा विश्वस्त हुन सकिने आधार खडा हुँदै छ ।