फडिन्द्र अधिकारी
लेखनाथ, जेठ २० गते । खरले छाएका गाउँले घर, आँगनमा परालको टौवा, झ्यालबाट होस् कि ढोकाबाट उत्तरतिर चिहाउनेबित्तिकै देखिने सफा हिमाल । ३० को दशकबाट पोखरा उपत्यकाको यस्तो भौगोलिक अवस्थिति देश, विदेशमा पुग्यो । त्यस्तो सौन्दर्य फिजाउने माध्यम बनेको थियो पानी रङ । पछि पोखरा नै पानी रङको सहरका रूपमा चिनियो । पोखराको सौन्दर्य र जनजीवनलाई पानी रङले क्यानभासमा उतार्ने सुरुवात कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले गर्नुभएको थियो ।
आठ बिस पार गर्दा पनि वात्स्यायन अझै पानी रङसँगै खेलिरहनुभएको छ । पोखरामा उहाँले भित्र्याएको वाटर कलर (पानी रङ) को प्रयोग ४० र ५० को दशकमा आइपुग्दा निकै बढ्यो । उहाँले आफ्ना धेरै जसो कला र कार्टुनमा समेत यही रङको प्रयोग गर्नुभएको छ । अरूभन्दा सस्तो, सरल रूपमा पाइने पानी रङकै पेन्टिङ अहिले पनि सबैभन्दा बढी बिक्री हुनेमा पर्छन् ।
उहाँबाट प्रेरणा र सिप सिकेर पानी रङमा खेल्न थाल्नुभएका प्राज्ञ बुद्धि गुरुङ त्यो बेला हिमाल र जनजीवन देखिने पेन्टिङ विदेशीले निकै रुचाउने गरेको सम्झनुहुन्छ । अहिले पानी रङ चलाउने कलाकारको सङ्ख्यामा बढोत्तरी भएको तर मौलिकता गुम्दै गएको उहाँको चिन्ता छ । “कलाकार निकै बढेका छन् । धेरैले पाश्चात्य शैली अपनाउँदा हाम्रो मौलिकता सङ्कटमा पर्ने खतरा देखिएको छ,” उहाँ भन्नुहुन्छ, “इतिहास जोगाउँदै मौलिकता खोज्नु जरुरी छ ।”
पोखराका कलाकारले कलाको क्षेत्रमा काम गर्न सिर्जनशील कलाकार समूह भन्ने संस्था बनाएका छन् । कलाकारको छाता संस्था समूहकी सचिव हेमकान्ती गुरुङ पानी रङमार्फत यहाँको प्रकृति, समाज र जीवन प्रतिविम्बित भइरहेको उल्लेख गर्नुहुन्छ । “पानी र पानी रङसँग पोखराको विशेष नाता छ । नेपालकै बढी वर्षा हुने पोखरालाई चिनाउने पानी रङ पनि हो,” उहाँ थप्नुहुन्छ, “अहिले विश्वमा आएका सबै प्रविधिसँग हाम्रो पहुँच छ तर मौलिकता भुल्नु हुँदैन ।”
पोखराका कलाकारले सबैभन्दा बढी पानी रङकै प्रयोग गर्ने भएकाले पोखरा यसकै नामबाट चिनिएको हो । चित्रकलामा प्रयोग हुने सबैभन्दा पुरानो र लोकप्रिय यो रङ प्रयोग गर्नेमध्ये यादवचन्द्र भुर्तेल पनि हुनुहुन्छ । फाइन आर्टमा स्नातक गर्ने पहिलो पोखरेली भुर्तेल सात दशक भइसक्दा पनि अझै कलाकै क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
“बिक्री हुने कलामा अधिकांश पानी रङकै छन्,” भुर्तेल भन्नुहुन्छ, “नयाँ पुस्ताले अरू प्रयोग पनि गर्न थालेको छ तर पुरानो मौलिकता बिर्सने र नयाँमा पनि स्थापित नहुने सम्भावना पनि म देख्छु ।” भुर्तेलले २०३४ सालमा खोलेको फाइन आर्ट ग्यालरीका कलामा पानी रङकै बाहुल्य छ । अग्रज कलाकार वात्स्यायन भने नयाँ प्रयोग र नयाँ पुस्तासँग आशावादी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नयाँ पुस्ता पुरानै ठाउँमा बसिरहँदैन । नयाँ नयाँ प्रयोग र अरूको अनुभव लिएरै कला क्षेत्र समृद्ध हुँदै जाने हो,” उहाँले भन्नुभयो ।