फडिन्द्र अधिकारी
लेखनाथ, जेठ १९ गते । अन्नपूर्ण प्रथम हिमालमा मौरिस हर्जाेगले पाइला राखेको ७४ वर्ष पुगेकै दिन नौ देशका राजदूत कास्कीको अन्नपूर्ण गाउँपालिकाको छोटो पदयात्रामा जाँदै हुनुहुन्छ । यही अन्नपूर्ण हिमालकै नामबाट कास्की र म्याग्दीका एक-एक पालिकाको नाम राखिएको छ ।
राजदूत र विदेशी नियोगका उच्च पदस्थ अधिकारीलाई आइतबार धम्पुसदेखि धिताल हुँदै अस्तामसम्म पदयात्रा गर्ने अवसर नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले जुराएको हो । बोर्ड गण्डकी प्रदेश कार्यालयले आर्थिक वर्ष २०८०-०८१ को वार्षिक कार्यक्रम बमोजिम आइतबार र सोमबार विशेष कार्यक्रम गरी अन्नपूर्ण दिवस मनाउँदै छ।
गण्डकी प्रदेशको राजधानी पोखरामा आठ हजार मिटर अग्लो हिमालको पहिलो आरोहणको सम्झनामा विशेष कार्यक्रम भइरहँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पनि यो दिनलाई सम्झदै छ । अन्नपूर्ण हिमाल आरोहण कास्की र म्याग्दी दुवै मार्गबाट गर्न मिल्छ । पर्यटन बोर्ड गण्डकी प्रमुख नवीन पोखरेल अन्नपूर्ण गाउँपालिकाले बनाएको मौरिस हर्जाेगको शालिक पोखरामा अनावरण गरी म्याग्दीको अन्नपूर्ण बेस क्याम्पमा राख्ने तयारी भएको उल्लेख गर्नुहुन्छ ।
अन्नपूर्ण दिवसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख पोखरेलले समारोहमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र सचिव सेवा लम्सालसहित अमेरिका, बेलायत, भारत, चीन, इजरायल, श्रीलंका, पाकिस्तान, थाइल्यान्ड, मलेसियाका राजदूतहरु सहभागी हुने जानकारी दिनुभयो । कार्यक्रममा अन्नपूर्ण हिमाल आरोहण गरिसक्नुभएका तीन पर्वतारोही पूर्णिमा श्रेष्ठ, दाबा योङजम शेर्पा र लाक्पा डेन्डी शेर्पालाई सम्मान गरिनेछ ।
उहाँहरुले आरोहणका आफ्ना अनुभवसमेत कार्यक्रममा सुनाउनुहुनेछ । परराष्ट्र मन्त्रालयको सहकार्यमा हुने कार्यक्रमा पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले सघाएका छन् । समारोहमा आउने विशिष्ट पाहुनालाई फेवातालमा बोटिङ गराउने र केबलकार हुँदै सराङसम्म लैजाने कार्यक्रमसमेत छ । सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइ लचेनलले विश्वका आठ हजार मिटर अग्लो हिमालमध्ये अन्नपूर्ण प्रथम पहिलोपटक आरोहण गर्नुभएको थियो ।
अर्काे वर्ष ७५ औँ अन्नपूर्ण दिवसमा हर्जाेगको विख्यात पुस्तक ‘अन्नपूर्ण’को नेपाली अनुवाद सार्वजनिक गर्ने र समारोहमा मौरिक हर्जाेगकी पत्नीलाई समेत आमन्त्रण गरिने कार्यालय प्रमुख पोखरलले सुनाउनुभयो । अन्नपूर्ण दिवस नेपालको पर्वतारोहण र पर्यटनको सुनौलो र विशेष दिन भएको उहाँको भनाइ छ । “पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झना हामीले गरेका हौँ,” उहाँले भन्नुभयो, “ कार्यक्रमबाट पर्यटन राजधानी पोखरा र समग्र गण्डकी प्रदेशमात्र नभई नेपालकै पर्वतीय पर्यटनको विश्व बजारमा प्रचारप्रसार र प्रवद्र्धन हुने हाम्रो अपेक्षा छ ।”